स्वस्तिमालाई गीतले चिनायो कि फिल्मले ?

नायिका स्वस्तिमा खड्काको करिअरमा फिल्मका २ वटा पाटा महत्वपूर्ण छन् । एउटा गीत र अर्को अभिनय । स्वस्तिमालाई करिअरमा दर्शकमाझ परिचित गराएको फिल्म हो, ‘बुलबुल’ । यो फिल्मले उनलाई एउटा राम्रो अभिनय गर्ने कलाकारको रुपमा स्थापित गरेको छ । भलै, कहिलेकाही स्वस्तिमाले रोज्ने गरेका फिल्मले उनको अब्बलतामा प्रश्न उठाउँछ ।

अर्को हो, स्वस्तिमाले काम गरेका फिल्मको संगीत । संगीतका कारण फिल्म नै नहेर्ने दर्शकसम्म पनि स्वस्तिमा परिचित छिन् । यसैले, त स्वस्तिमा आजका दिनमा पनि आफूलाई कैयौं दर्शकले फिल्म भन्दा पनि गीतका कारण चिनेको निर्धक्क भन्न सक्छिन् ।

स्वस्तिमाले नृत्य गरेको फिल्म ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीत सर्वाधिक हेरिएको नेपाली गीत हो । दर्शकले स्वस्तिमालाई यो गीतका कारण बढी चिन्ने गरेका छन् । अब, उनले नै अभिनय गरेको फिल्म ‘घामड शेरे’को ‘साली मन पर्यो’ बोलको गीतले १० करोड भ्यूज कटाएको छ । यो गीत ब्लकबस्टर भएपनि फिल्म भने असफल भयो । तर, दर्शकले यो गीतलाई आज पनि उस्तै माया दिएका छन् ।

युट्युबमा सर्वाधिक हेरिएको तेश्रो गीत समेत बनेको छ, ‘साली मन पर्यो’ । गीत ब्लकबस्टर भएपछि स्वस्तिमाको लागि अर्को खुशी पनि थपिएको छ ।