प्रदर्शकका लागि अप्ठ्यारो बनेका भूवन केसी
श्रोतको खबरलाई विश्वास गर्ने हो भने, चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीसँग हल संचालकहरु रुष्ट छन् । भूवन केसीले विकास बोर्डमा आएपछि गरेका केही निर्णयले उनीहरुलाई हैरान बनाएको छ । जसकाकारण, प्रदर्शकहरुले केसीलाई उनको र उनका छोरा अनमोल केसीको फिल्म चलाउनु पर्दैन र भनेर घुमाउरो शैलीमा धम्की समेत दिने गरेका छन् ।
आखिर किन बोर्ड अध्यक्ष प्रदर्शकहरुका लागि टाउको दुखाइको बिषय बनिरहेका छन्, यस बिषयमा चर्चा गरौं । नायक केसीले विकास बोर्डमा आएसँगै राती ११ बजेपछि फिल्म देखाउनु परेको खण्डमा विकास बोर्ड र जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिनुपर्ने भन्दै पत्रिकामा सूचना प्रकाशित गरे । यसलेगर्दा, कहिलेकाही मनपरी रुपमा रातको १ बजे पनि विना सुरक्षा फिल्म देखाउने गरेका प्रदर्शकको निन्द्रा नै हरायो ।
बोर्ड अध्यक्षले गरेको अर्को निर्णय थियो, कार्तिक १ गतेबाट कुनै पनि फिल्मको सेन्सरको अनुमति लिनका लागि एक साता अगाडि नै सम्पूर्ण कागजपत्र पेश गर्नुपर्ने । यो नियमले त नेपालमा हिन्दी फिल्म बिहिबार दिउँसो ल्याएर बेलुका सेन्सर गर्नेदेखि फिल्मको सेन्सर नगरि शोज खुलाउनेहरुका लागि तनाव सिर्जना गर्यो ।
यही नियमका कारण केही बलिउड फिल्म भारतमा रिलिज भएको एक सातापछि मात्र नेपालमा रिलिज हुने गरेका छन् । भारतीय फिल्म रिलिजको दिनदेखि नै पाइरेसीको चरम शिकारमा पर्ने भएकाले पनि एक सातापछि नेपाल भित्रदा नेपाली दर्शकका लागि खासै रुचीकर बन्दैनन् । ‘राम सेतु’ यसैको एउटा उदारहण हो ।
शुक्रबार ब्राजिल र क्रोयसियाको विश्वकप फुटबल देखाउन भन्दै केही हलहरुले शोज नै खुलाए । बेलुकी ८ बजेका लागि शोज खुलाइएको थाहा पाएपछि विकास बोर्डले विज्ञप्ती निकाल्यो र शोज नदेखाउन चेतावनी दियो । बोर्ड अध्यक्ष केसीले नै हस्ताक्षर गरेको विज्ञप्तीले शोज देखाएर राम्रै पैसा कमाउने सोच बनाएका प्रदर्शकहरुलाई तनाव दियो । अन्ततः उनीहरुले कुनै पनि खेल देखाउन पाएनन् ।
यसरी, एकपछि अर्को निर्णयले भूवन केसी जसरी विवादित बनिरहेका छन् त्यसरी नै प्रदर्शकका लागि टाउको दुखाइको बिषय पनि बनेका छन् ।
प्रतिक्रिया