बोर्डमा कायलपलट गर्छु भन्थे भूवन, तर विज्ञप्ती निकालेरै जाने भो २ बर्ष

चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि नेकपा एमाले पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका थिए नायक भूवन केसी । विकास बोर्डमा पुगेर फिल्म क्षेत्रमा कायलपलट नै गर्छु भन्ने उनका भाषण आज पनि सामाजिक संजालमा सुरक्षित नै होलान् ।

तर, विकास बोर्डको अध्यक्ष बनेदेखि नै विवादित निर्णय गर्दै आएका भूवनले कायलपलट गर्ने कुरामा त फिल्मीकर्मी विश्वस्त हुन छाडेका छन्, उनले बनेको कुरा पनि नबिगारिदिए हुन्थ्यो भन्ने सोच धेरैमा पलाउन थालेको छ ।

विकास बोर्डको अध्यक्ष भएपछि भूवन केसीमा देखिएको एउटा मोह हो, जुनसुकै कुरामा पनि विज्ञप्ती निकाल्ने । अब, त भूवनले फूटबल नदेखाउनु भनेर आफैले हस्ताक्षर गरेर बोर्डलाई पत्र समेट काट्न भ्याएका छन् । आफैले फूटबल देखाउनु भनेर कोर्ड दिएका भूवनले अहिले आएर फूटबल नदेखाउनु भन्दै पत्र काटे । यति सामान्य कुरामा पनि अध्यक्ष आफैलाई हस्ताक्षर गरेर विज्ञप्ती निकाल्ने रहर पलाएको देखिन्छ ।

केही समय अगाडि उनले फिल्म ‘प्रेमगीत ३’को टिमसँग बिबाद हुँदा आफ्नो पदको समेत मर्यादा बिर्सदै नायक प्रदीप खड्कालाई तथानाम गाली गर्दै मिडियामा अन्तरवार्ता दिदै हिडेका थिए । एउटा बोर्ड अध्यक्षले कुनै एक व्यक्तिलाई भन्दा पनि सिंगो फिल्म क्षेत्रको हितमा काम गर्नुपर्छ वा बोल्नुपर्छ भन्ने समेत भूवनले बिर्सिए र प्रदीपमाथि आक्रोश पोखेका थिए ।

निरन्तर बिबादमा आएका भूवन केसीले विकास बोर्डमा ६ जना सल्लाहाकार नै राखेका छन् । तर, उनलाई ६ जना सल्लाहाकारले खै कस्तो सल्लाहा दिइरहेका छन् आम फिल्मीकर्मी नै अचम्ममा पर्न थालेका छन् । बोर्डमा भूवनको यस्तै अवस्था रहने हो भने उनीबाट फिल्म क्षेत्रले ठूलो काम हुने अपेक्षा गर्न सक्दैन । चर्चाको भोगी केसीले बोर्डमा पुगेर पनि सिमित चर्चा र गसिप नै खोजेको देखिन्छ ।

हामी त यत्ती मात्र भन्छौं, भूवन केसीको २ बर्ष विज्ञप्ती निकालेर नसकियोस् ।