भुवन केसीको अपरिपक्व काम, विकास बोर्डले रोक्न सक्ला त विश्वकप फुटबल ?

चलचित्र विकास बोर्ड भुवन केसीको अपरिपक्व काम देखिएको छ । बोर्ड आफैँले आठ दिनअघि विश्वकप फुटबल देखाउन हलहरूलाई अनुमति दिँदै बोर्डकै आधिकारिक इमेलबाट फुटबल खेललाई फिल्म सरह प्रदर्शन गर्नको लागि कोड सहितको इमेल पठाएको थियो ।

जसमा विश्वकप देखाउन इच्छुक हललाई वितरण र मुभी कोड प्रयोग गर्न आग्रह गरेको छ । यस अर्थ बोर्ड आफैँले अग्रसरता दिएर फिल्म हलहरूमा फुटबल देखाउन अनुमति दिएको भन्ने बुझिन्छ । तर केही फिल्म हलले विश्वकप फुटबलअन्तर्गत क्वार्टर फाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले शुक्रबार मध्यान्नमा विज्ञप्ति जारी गर्दै फुटबल देखाउने फिल्म हललाई विश्वकप नदेखाउन भन्दै उर्दी जारी गर्यो। अचानक जारी विज्ञप्तिमा विश्वकप देखाए कारबाहीको भागीदार बन्नुपर्ने बोर्डले चेतावनी दिएको छ ।

हलहरूलाई विदेशी फिल्मसरह कर बुझाएर विश्वकप देखाउन देखाउन भनिए पनि अहिले आएर कारबाही हुने चेतावनी दिएपछि बोर्ड माथि प्रश्न खडा भएको छ । बोर्डले शुक्रबार ७७ रै जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थसहित पत्राचार गरेको छ।

बोर्डले फिल्म प्रदर्शन गर्न दिइएको इजाजत पत्रमा उल्लेख भएबमोजिमका सर्तमा मात्र प्रदर्शन गर्न सूचित गरेको छ । बोर्ड अन्तर्गत रहेको बक्स अफिसले भने केही दिन अगावै फुटबल देखाउने भए मुभी कोड प्रयोग गर्नुस् भन्दै हलवालालाई कोड पठाएको सूचना बाहिरिए को छ । बक्स अफिसबाट सम्पूर्ण हललाई गएको इमेलमा मुभी कोड र डिस्ट्रिब्युटर कोड गरी दुई कोड हललाई पठाइएको छ र फुटबललाई विदेशी फिल्म सरहको टिकट मूल्य लागू गर्न आग्रह गरेको छ ।

भुवन केसी विकास बोर्ड अध्यक्ष बनेसँगै चलचित्र विकास बोर्ड अनेक विवादमा फस्ने गरेको छ । आफैँले पठाएको सूचनाको धज्जी उडाउँदै बोर्डले अन्तिम समयमा हललाई फुटबल नदेखाउन चेतावनी दिएपछि यस विषयमा बोर्डका सदस्य राज कटुवालले बोर्डलाई विवादित बनाउने काम गरिएको बताएका छन् ।

हामीले आजै फुटबल देखाइँदै छ आजै विज्ञप्ति किन निकालियो भन्ने प्रश्नमा उनले भनेका छन्, ”म पनि विज्ञप्ति निकाल्ने कुरामा सहमत छैन । पुर्णरुपमा विकास बोर्डलाई विवादित बनाउने काम गरियो यो विषयमा हामी कसै सँग पनि क्षलफल गरिएन विज्ञप्ति नै निकालिने भएको भए सरसल्लाह गर्नु पर्ने थियो । विज्ञप्ति किन निकालियो म पनि यस विषयमा बोडमा कुरा उठाउँछु । बारम्बार विज्ञप्ति निकाल्दै बोर्डलाई बदनाम गराउनु भएन म यस कुरामा दुखी पनि छु र मेरो खबरदारी हुने छ । भुवन केसी दाइलाई म पनि प्रश्न गर्छु पहिला कोड दिने अनि अहिले नियम भन्दा बाहिर गएर विज्ञप्ति निकाल्दै बस्ने ? हप्ता दिन अघि पनि विज्ञप्ति निकालियो त्यस बेला व्यवसायहरूलाई कोड दियो अनि सम्पूर्ण हिसाबले विवादित बनाउन मात्रै किन केन्द्रित देखिने ?”

यस्तै विकास बोर्डले फुटबल देखाउने कार्यलाई रोक्न सक्छ कि सक्दैन त भनेर प्रश्न गर्दा उनी भन्छन्, ‘रोक्न सक्छ किन नसक्ने होर तर कार्यान्वयन हुन पर्यो विज्ञप्ति निकाल्ने अनि कार्यान्वयन नगर्ने कुरा भएन बोर्ड प्रभावकारी देखिनु पर्यो ।’