‘कृष्णलीला’ नचलेपछि पुष्पले ३३ प्रतिशत पारिश्रमिक फिर्ता गर्ने

यो बर्ष रिलिज भएका फिल्ममध्ये बक्स अफिसमा नराम्रोसँग पिटिएको फिल्म हो, ‘कृष्णलीला’ । यो फिल्मले बक्स अफिसमा खराब व्यापार गर्दा यसको असर नायक पुष्प खड्कामा पनि पर्यो ।

नेपाली फिल्म क्षेत्रमा चम्किरहेका पुष्पलाई फिल्म नचल्दा केही हदसम्म गाह्रो हुने नै भयो । दीपक वलीको निर्देशनमा तयार भएको यो फिल्मले देशभरबाट दयनीय नै कलेक्शन गरेको छ । यो फिल्मको प्रचारका क्रममा नायक खड्काले फिल्म नचलेको खण्डमा निर्माताले दिएको पारिश्रमिक फिर्ता गर्ने बताएका थिए । तर, त्यसपछि उनले पारिश्रमिक फिर्ता गरे या गरेनन् भन्ने कुनै खबर सार्वजनिक भएको थिएन ।

बिहिबार फिल्म ‘तिम्रो मेरो साथ’को प्रचारका क्रममा पुष्पले भने–‘मैले पारिश्रमिक फिर्ता गर्छु भनेर मिडियामा भनेकाले खबर आएको थियो । त्यसपछि के भयो भन्ने हामीले मिडियामा ल्याउन चाहेनौं । मैले निर्माता रोहित कट्टेलसँग पारिश्रमिक फिर्ताको बिषयमा कुरा गरिसकेको छु । म ३३ प्रतिशत पारिश्रमिक फिर्ता गर्छु ।’

निर्माता फिल्मबाट नराम्रोसँग डुबेपछि पुष्पले केही हदसम्म भएपनि सहयोग गर्न खोजेका छन् । पुष्पको इमान्दारिताको कदर भने गर्नैपर्छ ।