‘मन्त्र’ निर्देशक गुरुङलाई रघुनाथको ‘चिलगाडी’ उडाउने जिम्मा

फिल्म ‘चिलगाडी’ निर्देशनको जिम्मा ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले पाएका छन् ।

दुई वर्षअघि निर्माण घोषणा भएको रघुनाथ सापकोटाको फिल्म ‘चिलगाडी’ कोभिड-१९ का कारण निर्माण हुन सकेको थिएन । बिहीबार रंग पत्रकार रहेका सापकोटा र निर्देशक गुरुङबीच कागजी सम्झौता भएको हो ।

सापकोटा र गुरुङबीच कागजी सम्झौता भएसँगै माग १५ बाट फिल्म छायांकन सुरु गर्ने तयारी रहेको छ । फिल्मको घोषणा हुँदा निर्देशकमा जनकदीप पराजुली रहेका थिए । उनले आफ्नो कार्यव्यस्तताका कारण नभ्याउने भएपछि ‘चिलगाडी’ को जिम्मा फिल्म ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले जिम्मा पाएका हुन् ।

आफ्नो फिल्मको निर्देशक फाइनल भएसँगै अब कलाकार छनोटको कार्य सुरु हुने सापकोटाले बताए । फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । फिल्मलाई सागर प्रधानले खिच्नेछन् भने अर्जुन पोखरेलको गीतमा संगीत रहनेछ ।

निर्देशक गुरुङका अनुसार फिल्म ‘चिलगाडी’ सामाजिक विषयवस्तुमा आधारित भएर हास्य प्रधानमा निर्माण हुनेछ । ‘चिलगाडी’ले युवापुस्ताको प्रतिनिधित्व गर्दै महत्त्वपूर्ण सन्देश दिने निर्माता सापकोटा बताउँछन् । नेपाली समाजको कहालीलाग्दो तथा यथार्थ पाटोलाई फिल्मले सशक्त रुपमा प्रस्तुत गर्ने उनी बताउँछन् ।

यो फिल्म सापकोटाको प्रोडक्सन हाउस सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुन लागेको हो ।