‘किम्फ’ को २०औँ संस्करण सुरु

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)को २०औँ संस्करण आज (बिहीबार)बाट सुरु भएको छ । राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने यस महोत्वसमा ३० देशका ६० भन्दा बढी फिल्महरु प्रदर्शन गरिनेछ ।

किम्फको उद्घाटनमा कर्णाली प्रदेशस्थित जाजरकोटको मह सिकारीको कथा समेटिएको फिल्म ‘बाघको बङ्गारा’को प्रिमियर हुनेछ । यस संस्करणको मूल नारा ‘दिगो आरोहण’ राखिएको छ । दुई वर्षपछि दर्शकको प्रत्यक्ष उपस्थितिमा हुन लागेको यस महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म देखाइनेछ ।

महोत्सवको समापन दिनमा पोलियो उन्मूलनका लागि अस्ट्रेलियन अपाङ्गता भएका व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेस्ट’ प्रदर्शन हुनेछ ।

फिल्मकर्मी, दर्शक, समीक्षक, पत्रकार, कलाकार र पर्वतारोहीको उपस्थितिमा हुने उक्त महोत्सवमा फिल्मसम्बन्धी गोष्ठी, प्रवचन तथा छलफल र फोटो प्रदर्शनी हुनेछ ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीनवटा फिल्मले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपियाँ पुरस्कारस्वरूप पाउनेछन् ।

नेपालीअन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट फिल्मलाई एक लाख र ७५ हजार नगद पुरस्कार दिइनेछ ।