‘महापुरुष’ चल्दा प्रदीपले अर्को फिल्म सुरु गर्नै मानेनन्

विगत ४२ दिनदेखि हलमा ‘महापुरुष’को राज चलिरहेको छ । प्रदीप भट्टराई निर्देशित यो फिल्मले दर्शकको माया निरन्तर पाइरहेको छ । बक्स अफिसमा फिल्मले ११ करोड भन्दा बढी ग्रस कलेक्शन गर्ने पक्का छ । संभवत, हलिउड फिल्म ‘अवतार’ हलमा लागेपछि मात्र यसको प्रभाव कम हुनसक्छ ।

यो फिल्मपछि निर्माता म्याक्स दीपेश खत्री र रविन्द्र सिंह बानियाँले नयाँ फिल्मको तयारी थाल्ने सुरसार गरेका छन् । तर, अहिले नै नयाँ फिल्म बनाउने तयारीमा निर्देशक प्रदीप भट्टराई छैनन् । बुधबार बेलुकी बीग मुभिजमा भेटिएका रविन्द्रले प्रदीपले नयाँ फिल्मको तयारी थाल्न नमानेको गुनासो गरे । उनले भने–‘नयाँ फिल्मको तयारीमा लागौं भन्दा महापुरुष नै चलिरहेको छ, किन हतार गर्ने भन्नुहुन्छ ।’

प्रदीप यो कुराले मुस्कुराए । बुधबार बेलुकी काठमाडौं महानगरका मेयर बालेन शाहले करिब ४० मिनेट फिल्म हेरे । यस्तै, केही वडाका वडाध्यक्षहरुले पनि फिल्म हेरेर आफ्नै कथा भएको प्रतिक्रिया दिए ।

फिल्म ‘कबड्डी ४’ पछि यो बर्ष हलमा लामो समयसम्म चलेको फिल्म नै ‘महापुरुष’ हो ।