अधिकांश निर्माता सिरिजकै पछि, नयाँ नाममा खै भरोसा ?
फिल्म ‘महापुरुष’ले बक्स अफिसमा बम्पर व्यापार गर्यो । अझै, पनि यो फिल्म चलिरहेको छ । यो कुनै पनि फिल्मको सिरिज वा सिक्वेल थिएन । तर, पनि दर्शकले यो फिल्मलाई अत्याधिक माया दिइरहेका छन् ।
तर, धमाधम घोषणा भएका फिल्मको सूची हेर्ने हो र रिलिजका लागि तयार भएका फिल्मको नाम हेर्ने हो भने नेपाली फिल्मका निर्मातालाई सिरिज वा सिक्वेल बाहेक अरुमाथि भरोसा नै नभएको देखिन्छ ।
‘हजार जुनी सम्म’ असफल भएपछि निर्देशक विकासराज आचार्यले फिल्म ‘नाई नभन्नु ल ६’ बनाइरहेका छन् । इनिसियल रुपमा बम्पर कमाई गरेको फिल्म ‘छड्के’को सिरिजको रुपमा ‘छड्के २’ बनिरहेको छ ।
‘माग्ने राजा’ नाम राख्ने भनेर चर्चा भएपनि दीपकराज गिरी र उनको टिमले ‘छक्का पन्जा ४’ नै नाम राखेर फिल्म बनाइरहेको छ ।
फिल्म ‘रेशम फिलिली’को समेत सिरिज बन्ने भएको छ । भूकम्प आएको अघिल्लो दिन रिलिज भएको फिल्मलाई ७ बर्षपछि सिरिजमा ल्याउन कलाकार तथा निर्माता विनय श्रेष्ठ कथा लेखिरहेका छन् । पहिलो सिरिज हिट र दोश्रो सिरिज असफल भएपछि कलाकार सुलेमान शंकर ‘इकु’को तेश्रो सिरिज बनाउने तयारीमा छन् । यो फिल्मको कथा प्रदीप भारद्धाजले लेखिरहेका छन् ।
प्रदीपले नै यो बर्षको हिट फिल्म ‘झिँगे दाउ’को सिक्वेलको कथा पनि लेखिरहेका छन् । यो फिल्मको छायांकन अर्को बर्षबाट सुरु हुँदैछ । सुवास थापाको निर्माण र सुदर्शन थापाको निर्देशनमा फिल्म ‘प्रसाद’को सिक्वेल बन्दैछ । फिल्मको छायांकन केही दिनमा नै सुरु हुँदैछ ।
फिल्म ‘म यस्तो गीत गाउँछु ३, २ नम्बरी २, पोई पर्यो बुढो’ लगायतका फिल्म बन्न तयार छन् । फिल्म बनाउने अधिकांश निर्माता हिट नामलाई नै निरन्तरता दिन चाहिरेका छन् । यसले, पनि नेपाली मेकरमा सिरिज वा सिक्वेलप्रतिको मोह प्रष्ट हुन्छ । ‘ए मेरो हजुर, प्रेमगीत’ नामका सिरिज त खाली चेक नै भैहाले । यसरी हेर्दा, नेपाली मेकरसँग नयाँ नाम नै छैन कि भन्ने देखिन थालेको छ ।
प्रतिक्रिया