निर्वाचनमा को–को कलाकार पराजित भए ? क-कस्को जमानत पनि जोगिएन ?
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा यस पटक दर्जनभन्दा बढी कलाकार उम्मेदवार थिए । दर्जन कलाकार विभिन्न पार्टी र स्वतन्त्र रूपमा होमिएका थिए । यति बेला निर्वाचनको मत परिणाम पनि अन्तिम चरणमा भइरहेको छ ।
यस पटकको निर्वाचनले फिल्म क्षेत्रका दुई जनाले निर्वाचितका रूपमा उभ्याउन सफल भएका छन्, भने कहिले हार व्यहोरे त केहीले जमानतसमेत जोगाउन समेत सकेनन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ।
फिल्म निर्माता रोज राणा र मधुकुमार श्रेष्ठ यस पटक आफूलाई सांसदका रुपमा चिनाउन सफल भए । रोज राणाका रूपमा परिचित सरोज थापा प्युठान (ख)बाट विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका उनले २२ हजार ५१९ मत ल्याएर एमाले उम्मेदवार हरिप्रसाद रिजाललाई पराजित गरे ।
यस्तै, अभिनेता तथा निर्माता मधुकुमार श्रेष्ठ धादिङ १ (क) बाट विजयी भएका छन् । उनले एमाले उम्मेदवार रमेश आचार्यलाई पराजित गरेका हुन् । कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठले १७ हजार ८३२ र आचार्यले १६ हजार ५३८ मत प्राप्त गरे ।
अझ यी दुई भन्दा केही चर्चित दाङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी गायिका कोमल वली पराजित भइन् । एमालेबाट राष्ट्रिय सभा सदस्य भइसकेकी वली सात हजार ८१० मतान्तरले कांग्रेसका उम्मेदवार दीपक गिरीसँग पराजित हुन पुगिन् ।
यो चुनावमा अभिनेत्री रेखा थापा पराजित हुनबाट अछुतो रहिनन् । मोरङ ३ बाट निर्वाचन लडेकी रेखा चुनावी प्रचारताका व्यापक चर्चामा रहेकी थिइन् । रेखाको ‘इन्ट्री’ले यसपटक उनीहरूको प्रतिस्पर्धामा चुनौती थपेको आकलन थियो । प्रचारका क्रममा देखिएको माहोल मतमा परिणत हुन नसक्दा मतगणना आउन सुरु भएदेखि नै रेखा तेस्रो स्थानमा सीमित भइन् । उनी कांग्रेस उम्मेदवार सुनीलकुमार शर्मासँग करिब ३८ हजार मतान्तरसहित पराजित भइन् ।
कमेडी च्याम्पियनका विजेता पन्तलाई चुनावी परिणामले भने नराम्रो निराश बनायो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेशले आफूले ल्याएको मत मासु र भातको बदलातमा नल्याएको समेत टिप्पणी गरे । धादिङ २ बाट उम्मेदवार बनेका हिमेश एकीकृत समाजवादीका नेता बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग पराजित हुँदै तेस्रो स्थानमा चित्त बुझाउन पुगे । पाण्डे ३५ हजार ९३४ मतसहित विजयी हुँदा हिमेशले १२ हजार ४७५ मत ल्याए । उनले सामाजिक सञ्जाल फेशबुकमा हलेको स्टाटसको सर्वत्र आलोचना भएपछि उनले यो स्टाटसलाई बरु सम्पादन गर्न भ्याए ।
कलाकार सम्राट सापकोटा पनि काठमाडौं १ मा प्रदेश (क)बाट पराजित भएका छन् । यो क्षेत्रमा कांग्रेसका दिपेन्द्र श्रेष्ठ निर्वाचित भए । नेपाल सुशासन पार्टीका तर्फबाट उम्मेदवारी दिए सापकोटाले २१ सय १३ मतसहित चौथो स्थानमा रहे।
यी नाम चलेका उम्मेदवार बाहेक अन्य केही फिल्मीकर्मीलाई जनताले झनै नपत्याएको देखिन्छ । प्रतिनिधी सभा, सिरहाको क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका मुरली मिझार (मुरलीधर) सात सय ८२ मत मात्र प्राप्त गर्न सफल भए। आफ्नै गृहक्षेत्रबाट उम्मेदवारी दिएका मुरलीधरले पनि जमानत जोगिएन ।
फिल्म निर्देशक मनोज पण्डित पनि संसदीय निर्वाचनमा पराजित भए । एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले एक सय ७३ मत मात्रै ल्याए । बाँस्कोटाले ७० करोड भ्रष्टाचार गरेको आरोपलाई चुनावको मुख्य एजेन्डा बनाएर हराएर देखाउने भनेर हिँडेका पण्डितले जमानत जोगाउन सकेनन् ।
हास्य सिरियल ‘सक्किगो नि’मा ‘सितेबा’को चरित्रमार्फत दर्शकमाझ प्रिय रहेका कलाकार मधुसूदन पाठकले जमानतसमेत जोगाउन सकेनन् । काठमाडौँ ५ मा चुनाव लड्न पुगेका उनले भने ३६४ मत मात्रै ल्याए । उनी लौरो अभियान चलाएको हाम्रो नेपाल पार्टीका तर्फबाट उम्मेदवार थिए । यो क्षेत्रमा कांग्रेस नेता प्रदीप पौडेल १५ हजार २६९ मत ल्याएर विजय भए ।
गायक सञ्जय श्रेष्ठको पनि जमानत जफत भएको छ । उनले पाँच सय ७७ मत मात्रै ल्याए । राप्रपाले टिकट नदिएपछि काठमाडौँ ६ बाट स्वतन्त्र उम्मेदवारी दिए पनि यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४ हजार २०४ मतसहित निर्वाचित भए । निर्वाचनको बेला श्रेष्ठको उम्मेदवारीले चर्चा हुने गरेको थियो।
काठमाडौँ–१ (२) बाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार रहेका वितरक तथा कलाकार करण श्रेष्ठ (क्रेजी)ले एक सय मत पनि ल्याउन सकेनन् । यो क्षेत्रमा कांग्रेसका सुरजचन्द्र लामिछाने चार हजार पाँच सय १० मतसहित विजयी हुँदा उनले ६७ मत मात्रै ल्याए । उनको पनि जमानत समेत जोगिएन ।
प्रतिक्रिया