रवि लामिछानेको चुनावी सभामा दीपाश्री, रमेश र किरणले देखाएको नेता शैली
स्थिर समय (मौन अवधि) सुरू हुन केही घण्टा बाँकी रहँदा चितवन २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निर्वाचन प्रचार प्रसारका लागि सेलिब्रेटी कलाकारहरू चितवन आए। दीपाश्री निरौला, किरण केसी, रमेश उप्रेती अनि निर्मल शर्मा काठमाडौँबाट चुनावी सभामा सहभागी हुन चितवन आएका थिए।
कलाकार दिपाश्री निरौलाले यसपटक चितवनले रविलाई जिताउने विश्वास व्यक्त गरिन् । रविले टेलिभिजन कार्यक्रममार्फत थुप्रै निमुखा जनताको आवाज बोलेको बताउँदै अब संसदमा पुगेरसमेत चर्को आवाज उठाउने बताइन् । उनले रविको अनुहारमा देश सुधार्न सक्ने क्षमता रहेको पनि बताइन्।
नेता शैली देखाउने प्रयास गरेका अभिनेता रमेश उप्रेतीले यो देशमा राजनेताको खाँचो रहेको र त्यो सम्भावना रविमा रहेको दाबी गरे।
कलाकार किरण केसीले यसअघि आफूले कुनै पनि पार्टी र उम्मेदवारलाई भोट नमागेको सुनाउँदै रविलाई जनताले जिताउन अपरिहार्य ठानेर अपिल गर्न चितवन आएको बताए । फिल्म प्रमोसनको कार्यक्रममा सहभागी जस्तै देखिएका किरणले अहिलेसम्म कुनै पार्टीको प्रमोसनमा नहिँडेको पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा खुलेको दाबी गरे।
निर्मल शर्माले पनि सभामा देखिएको सभामा हौसिँदै राजनीतिक मञ्चमा पहिलो पटक आएको दाबी गरेका थिए। उनले आफैँ प्लेनको टिकट काटेर आएको दाबी समेत गर्न भ्याएका थिए।
प्रतिक्रिया