चुनावको बेला मात्र कलाकार खोज्छन् दल

निर्वाचन आउन ३ दिन मात्र बाँकी छ । निर्वाचनको दिन नजिकिदै जाँदा नेपाली फिल्मका कलाकारहरु पनि कुनै एक पार्टीमाथि खुलेर लागेका छन् । केही दिन अगाडि नायक राजेश हमालले राप्रपाका कार्यकर्तासँग तस्वीर खिच्न नमानेको खबर मेरो फिल्मले सार्वजनिक गरेको थियो ।

तर, निर्वाचनको समयमा नेपाली फिल्मका कलाकारहरुलाई पनि राजनीतिक दलका नेताले प्रयोग गर्ने गरेको देखिन्छ ।

नायक प्रदीप खड्का नेपाली कांग्रेसका उम्मेदवारका लाaगि भोट मागिरहेका छन् भने केही कलाकार एमाले, माओवादी र राप्रपाको लागि पनि भोट मागिरहेका छन् ।
एलिना चौहान, उषा उप्रेती लगायतका कलाकारकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भोट मागेपछि यसले पनि राम्रै चर्चा पायो ।

नायिका रेखा थापा राप्रपाको उम्मेदवार भएका कारण पनि उनको लागि मात्र भोट माग्ने कलाकार पनि थुप्रै छन् ।

नेपाली कलाकारलाई राजनीतिक दलले चुनावको समयमा भरपुर प्रयोग गर्ने गरेका छन् । अझ, चुनावको समयमा कलाकारलाई आम जनतासँग भोट माग्न लगाउने कुरामा उनीहरु चतुर छन् । तर, चुनावमा प्रयोग हुने कलाकार अरु समयमा भने राजनीतिक दलका लागि नगन्य जस्तै देखिन्छन् ।

चलचित्र विकास बोर्डमा अध्यक्षदेखि सदस्य नियुक्त गर्दा देखिने चरम राजनीतिले पनि यो कुराको पुष्टी गर्छ । यो समयमा दलका नेताहरुले बोर्डमा उपयुक्त पात्र पठाउने बिषयमा कहिले सोचेको पाइदैन ।

यतिमात्र होइन, नेपाली फिल्म क्षेत्रको बिषयमा यसअघि कहिले पनि कुनै दलले गम्भिर भएर सोचेको पाइदैन । नेपाली फिल्मका समस्या जस्ताको तस्तै छन् । तर, चुनावको समयमा कलाकारलाई प्रयोग गरेर फाइदा लिने राजनीतिक पार्टीहरुले अरु समयमा भने त्यही कलाकारलाई खासै महत्व दिदैनन् ।