अमेरिकामा इतिहास रच्दै ‘महापुरूष’
प्रदर्शनको तेस्रो सातामा फिल्म ‘महापुरूष’ हाउसफुल भइरहेको छ । शुक्रबारसमेत दर्शकको साथ् पाएको फिल्म शनिवार काठमाडौं उपत्यकामा रहेका शोहरू हाउसफुलछन् । विहानी देखि नै शतप्रतिशत अकुपेन्सीसहित शोहरू प्रदर्शन भइरहेका छन् । प्रदर्शनको तेस्रोसातामा दुई विदेशी फिल्मसँग टक्कर गरिरहेको फिल्मको शो दर्शकको उपस्थितिसँगै बढिरहेको छ । प्रदर्शनको दुई सातामा ७ करोड ४ लाख ग्रस कलेक्सन गरेको फिल्म नेपालसँगै अमेरिकामा समेत इतिहास बनाउने दौडमा छ ।
फिल्मलाई अमेरिकामा नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीले प्रदर्शन गरिरहेको छ । डलासबाट सुरु भएको फिल्मले रेगुलर शोमै दर्शक पाइरहेको नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका प्रतिक सुवेदीले जानकारी दिए । ‘विदेशी फिल्म प्रदर्शन हुने शैलीमै पहिलोपटक अमेरिकामा नेपाली फिल्म प्रदर्शन भइरहेको छ । यसले भरिभराउ दर्शक पाइरहेको छ । फिल्म धेरै सहरमा लाग्न बाँकी नै छ’, अमेरिका वितरक सुवेदीले भने,‘यसले अमेरिकामा प्रदर्शन भएको अहिलेसम्मको नेपाली फिल्ममा इतिहास बनाउदैछ । फिल्म हेर्ने युवायुवती, वृद्धवृद्धासँगै विदेशी दर्शकहरू समेत आएका छन् ।’
उनले नेपाली भाषी रहेको अमेरिकाको हरेक सहरमा फिल्म प्रदर्शन गर्ने जानकारी दिएँ । ‘फिल्मको डिमाण्ड बढ्दो छ । स्थानीय फिल्म रिलिज हुँदा समेत हामीले हल पाइरहेका छौँ । जबकि यहाँ प्राइभेट नभई नेपाल झैँ सिधै टिकेर काटेर फिल्म हेर्ने मिल्ने गरी शो गरिरहेका छौँ’,उनले भने । वितरक सुवेदीका अनुसार डलासमा मात्र नोभेम्बर १० सम्ममा ६९ शो भइसकेको छ भने एटलान्टा, जर्जिया बाल्टिमोर, मेरिल्याण्ड र नर्थ क्यारोलिना, लस एन्जलस, डेनभर, एक्रोन, ह्युस्टन, अस्टिन जस्ता सहरमा समेत प्रदर्शन भइरहेको फिल्म ’महापुरूष’ को एक सय ४७ शो भइसकेको छ ।
विदेशी फिल्मकै शैलीमा प्रदर्शन भइरहेको पहिलो रहेको सुवेदीले बताए । ‘अमेरिका र क्यानाडामा तीन सय शो हुने प्रारम्भिक अनुमान हाम्रो छ । यो बढ्न पनि सक्छ । यो विकेन्डमा राखिएका अधिकाँस शोहरू हाउसफुल भएका छन्’, सुवेदीले भने, ‘डिसेम्बर २ बाट बे एरियाको सिनेमार्क र सिनेलाउन्जमा समेत प्रदर्शन गर्दैछौँ । महापुरूष उत्तरी अमेरिकामा सबै भन्दा बढी शो हुने फिल्म बन्दैछ ।’
फिल्म हेर्ने आइपुगेका दर्शक सन्तुष्ट भएको प्रतिक्रिया पाउँदा कलाकार समेत रहेका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ दंग छ । ’विदेशमा समय छुट्याएर हाम्रो कामलाई विश्वास गरेर आउनु भएका दर्शक फिल्म हेरेर सन्तुष्ट हुनुनै हाम्रो सफलता हो’, कार्यकारी निर्माता बानियाँले भने । यसले नेपालमा तेस्रो सातामा मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा २१ शो पाएको छ ।
क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ३ शो, लबिम मलमा ४ शो , सिभिल मलमा ३ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा १ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा १ शो, वुटवलमा २ शो, दमौलीमा १ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विराटनगरमा १ शो, विर्तामोडमा २ शो दिएको छ ।
काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा १ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा १ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा १ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा २ शो रहेको छ । बानेश्वरमा रहेको वान सिनेमाजमा २ शो र कालिमाटीमा २ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ३ शो र बुटवलमा रहेको आइएनआइमा ३ शो दिएको छ ।
दर्शकले देखाईरहनुभएको मायाले आउँदो दिनमा शो बढ्ने निर्देशक प्रदीप भट्टराईले बताए । ‘फिल्म युरोपमा नोभेम्बर २० बाट प्रदर्शन हुँदैछ । अन्य देशमा समेत तयारी छ । फिल्मले पाइरहेको प्रतिक्रियाले विदेशमा डिमाण्ड बढ्दो छ’, निर्माता दीपेश खत्रीले बताए । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।
फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।
प्रतिक्रिया