सेन्सर बोर्डको निर्लज्जताः परिवारका सदस्य राखेर ‘उचाई’ फिल्मको सेन्सर

कुनै पनि फिल्म हलमा रिलिज हुनु अगाडि सेन्सर किन गरिन्छ ? पक्कै पनि त्यो फिल्म कुन उमेर समुहका मानिसहरुले हेर्न ठिक हुन्छ ? कानुनले बर्जित गरेका कुराहरु फिल्ममा देखाइएको छ या छैन ? देखाउनै नहुने संवाद र दृश्य छन् या छैनन् ? यी सबै कुराहरु हेरेर सोही अनुसार फिल्मलाई प्रमाणपत्र पेश गर्ने काम हो सेन्सर बोर्डको ।

तर, नेपालको सेन्सर बोर्डमा पुग्ने पदाधिकारी र उनीहरुले देखाउने क्रियाकलाप अचम्मकै छ । सेन्सर बोर्डमा बस्ने धेरै मानिसहरुलाई त फिल्मको बारेमा खासै थाहा पनि हुँदैन । तर, उनीहरु नै फिल्म हेरिदिन्छन् र प्रमाणपत्र दिन्छन् ।

तर, बिहिबार बेलुकी फिल्म ‘उचाई’को सेन्सरका क्रममा अचम्मकै दृश्य देखियो । यो फिल्म हेर्नका लागि सेन्सर बोर्डमा सरकारले तोकेका कर्मचारी र विज्ञ मात्र थिएनन्, सेन्सर बोर्डका कर्मचारीका छोराछोरी, श्रीमति लगायत पनि थिए । ८–९ जना भएर गरिनुपर्ने सेन्सरमा ३ दर्जन जती मानिसहरु उपस्थित थिए ।

रमाइलो कुरा त के पनि रहेछ भने, सेन्सर बोर्डका कर्मचारीले परिवार बोकेर ल्याएको यो पहिलो पटक होइन । धेरै फिल्मका सेन्सर गर्दा उनीहरु परिवारका सदस्यलाई समेत बोकेर ल्याउने गर्छन् ।

एक वितरकले दिएको जानकारी अनुसार, सेन्सर गर्दा निर्माताले नै खाजा खुवाउने, भत्ता दिने गर्नुपर्छ । सेन्सरका कर्मचारीलाई मात्र होइन, ‘उचाई’का वितरकले उनीहरुका आफन्तलाई समेत खाजा खुवाए । सेन्सर गरेपछि निर्माताले नै एक जना कर्मचारीलाई १७५० का दरले भत्ता दिनुपर्छ । सरकारका कर्मचारीलाई निर्माताले भत्ता किन दिनुपर्ने हो ? यो नियम किन अहिलेसम्म यथावत् छ ?

सेन्सर बोर्डको निर्लज्जता यस अगाडि पनि देखिएको हो ? तर, ‘उचाई’को सेन्सर हुँदा झनै लाजमर्दो दृश्य देखियो । के नेपालको सेन्सर बोर्ड सधै यसरी नै चल्ने हो ?