कलाकार ‘गहना’ भन्ने बिषयमा दीपक र निश्चलको फेसबुकमा सवाल–जवाफ
कलाकार दीपकराज गिरीले अहिलेसम्म खुलेरै कुनै व्यक्ति वा पार्टीलाई समर्थन गरेका छैनन् । केही कलाकारहरुले खुलेरै स्वतन्त्र उम्मेदवारदेखि नयाँ पार्टीका उम्मेदवारहरुलाई समर्थन गरिरहेको समयमा दीपक भने अहिलेसम्म मौन नै छन् । अझ, उनले त ६० बर्ष कटेका नेतालाई भोट नदिने उद्घोष नै गरिसकेका छन् ।
उनै, दीपकले फेसबुकमा स्टाटस लेखे–‘कलाकारलाई गहना किन भनेको होला ? सायद सबैले प्रिय र साझा ठानेकोले होला । त्यसैले म कुनै एक समुहको हुन सकिन । सबैलाई शुभकामना ।’
दीपकको यो स्टाटसमा कमेन्ट थुप्रै आएको छ । जसमा, निर्देशक निश्चल बस्नेतले पनि प्रतिक्रिया दिदै लेखे–‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला । पेशा भन्दा पहिला देश कि के हो दाई ?’
निश्चलले स्थानीय निर्वाचनमा बालेन्द्र शाहलाई खुलेरै समर्थन गरेका थिए । यसपटक पनि उनले केही स्वतन्त्र र केही पार्टीका उम्मेदवारलाई खुलेरै समर्थन गरिरहेका छन् । यसैले, उनले यस्तो अवस्थामा कलाकारहरुले गहना हुँ भनेर मात्र नहुने तर्क गरेका छन् । यसमा दीपकले जवाफ फर्काउँदै लेखेका छन्–‘हेहेहे, आधा सही हो । वकिलले राम्रो गरेन वकिले खोज्ने, डाक्टरले राम्रो गरेन डाक्टर बन्न जाने, मन्त्रीले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर । आफू जे हो, त्यो काम इमान्दार भएर गर्नुपर्छ भन्ने आशय मात्रै हो । हामीले सपोर्ट गरेकाले पनि देशलाई खाल्टोमा हाल्दैनन् भन्ने के ग्यारेन्टी छ र ब्रदर ?’
दीपकको यो जवाफमा केहीले उनको सपोर्ट गरेका छन् भने अधिकांशले निश्चल बस्नेतको जवाफमा समर्थन गर्दै प्रतिक्रिया जनाएका छन् ।
प्रतिक्रिया