अनमोल केसीः महंगो रकम लिन्छन्, निर्मातालाई मुनाफा दिन्छन्

नायक अनमोल केसीले फिल्मका लागि महंगो रकम लिन्छन् । उनले, ५० देखि ६० लाखसम्म पारिश्रमिक लिने गरेको खबर सार्वजनिक भैरहेका हुन्छन् । तर, अनमोल केसीलाई फिल्ममा साइन गराउन सहज भने छैन । अनमोलले पारिश्रमिक महंगो लिएको खबर सार्वजनिक भएपनि उनको फिल्मबाट निर्माता कसरी रिलिज अगाडि नै सुरक्षित हुन्छन् भन्ने खबरहरु कमै मात्र आउने गर्छन् ।

अनमोल केसीको यो बर्ष ‘छड्के २’ नामक फिल्म रिलिज हुँदैछ । यो फिल्मको छायांकन केही बाँकी छ । तर, यो फिल्मका निर्मातालाई फिल्मबाट घाटा नहुने देखिन्छ ।

यो फिल्मलाई एक डिजिटल कम्पनीले ८० लाखमा डिजिटल अधिकार किनेको वुझिएको छ । अनमोल केसी फिल्ममा भएकै कारण यति महंगो रकम कम्पनीले खर्च गरेको हो । यस्तै, यो फिल्मलाई वितरक सुनिल मानन्धरले १ करोड ६० लाखमा किनेको वुझिएको छ । फिल्मको ओभरसिज राइट्स पनि राम्रै रकममा विक्री हुने निश्चित छ । अनमोल केसीकै नाममा निर्माताले विज्ञापन बजारबाट पनि राम्रै पैसा उठाउन सक्छन् ।

यसरीहेर्दा, फिल्मका लागि ५० लाख पारिश्रमिक लिने अनमोलको फिल्म रिलिज अगाडि नै मुनाफामा गएको देखिन्छ ।

यस्तै, छायांकन नै सुरु नहुँदै अनमोलको मुख्य भूमिका रहने फिल्म ‘जेरी’को प्रदर्शन अधिकार आरआर फिल्मस्ले लिएको छ । आरआर फिल्मस्ले महंगो रकममा फिल्म रिलिजको अधिकार लिएको हो । अनमोल केसीकै कारण यो फिल्मलाई वितरकले महंगो रकम खर्च गरेका छन् । फिल्मको डिजिटल र ओभरसिज राइट्स विक्री हुन बाँकी छ । पछिल्लो समय त ओटीटी प्लेटफर्मका कारण पनि निर्माताले केही न केही रकम कमाउने गरेका छन् ।

यसैले, अनमोल केसी बर्षमा थोरै फिल्म खेल्छन् तर मिहिनेत खुबै गर्छन् । उनको स्टारडमकै कारण फिल्ममाथि दर्शक, वितरक, प्रदर्शकको पनि चासो उच्च हुने गरेको छ ।