‘डिसेम्बर फल्स’को गीतमा उपासनाले लगाएको पहिरन विवादमा ?

पौषको १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘डिसेम्बर फल्स’को एक गीतको छायांकन हालै मात्र भक्तपुर दरबार स्क्वायरमा गरियो । यो गीतमा फिल्मका मुख्य नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको अभिनय छ ।

फिल्ममा पनि यी दुइको प्रेम कहानी हेर्न सकिन्छ । फिल्मको ‘चार घन्टा कुराएर’ बोलको गीतको छायांकनमा नायिका उपासना सिंह ठकुरीले लगाएको पहिरनको विरोध सुरु भएको छ । विशेषगरि, भिडियो छायांकनका क्रममा उपासनाले टिकटकमा पोष्ट गरेको एक भिडियोमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् ।

उपासनाले लगाएको पहिरनमा बौद्ध स्तुपा, स्वयंम्भु मन्दिरको चित्र प्रयोग गरिएको छ । प्रतिक्रिया दिने अधिकांशले उपासनाले लगाएको पहिरनमा भगवान्को अबमुल्यन गरेको भन्दै विरोध गरेका छन् । कतिपयले खुट्टाको भागमा मन्दिर, बौद्ध स्तुपाको प्रयोग गरिएको भन्दै आलोचना पनि गरेका छन् । कतिपयले भने उपासनाको पहिरनको प्रशंसा गरेका छन् ।

उपासनाको एउटा टिकटकको भिडियोमा नै आलोचना भैरहेको समयमा यो गीत सार्वजनिक भएपछि पक्कै यसले विवाद निम्त्याउने देखिन्छ ।