डेढ घन्टा कुराएर हमाल आए, शुभकामना दिए गए

सोमबार काठमाडौंको आई प्लेक्स मलमा आयोजना भएको ‘रानी माया’ बोलको गीत रिलिज कार्यक्रमका प्रमुख अतिथी थिए, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ । यस्तै, विशेष अतिथी थिए नायक राजेश हमाल ।

कार्यक्रम दिउँसो साढे १२ बजेलाई तोकिएपनि सुरु हुँदा २ बजिसकेको थियो । हमाल ढिलो आउँदा कार्यक्रम ढिलै सुरु भयो । हमाल आएर सिटमा बसे । गीत देखाउने काम भयो । राजेश हमाल नै आउने भनिएकाले मिडियाकर्मी साढे १२ बजेदेखि हलमा थिए ।

तर, राजेश हमालले गीत हेरेपछि छोटो शब्दमा गायक तथा मोडल कृष्ण बीके र उनको टिमलाई शुभकामना दिए । हमाल हतार हतारमा बोले र हिडे । निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा जानु छ भन्दै हमाल निर्माता संघका अध्यक्ष नवल खड्कासँगै हिडेका थिए ।

हमाल कार्यक्रममा बोलेर हिडेपछि बल्ल प्रमुख अतिथी जीवनराम श्रेष्ठ बोलेका थिए । राजेश हमालसँग केही प्रश्न सोधौला भनेर उनलाई डेढ घन्टा कुरेका मिडियाकर्मी हिस्स भए ।

हुनत, राजेश हमालको कुराउने बानी यो नै पहिलो होइन । अर्को कार्यक्रममा जानु थियो भने हमाल यो कार्यक्रम केही अगाडि आइदिएको भए कती राम्रो हुन्थ्यो होला ?