बक्स अफिसमा नाम चलेकै निर्देशकको हालिमुहाली
फिल्म कलाकारका कारणले मात्र होइन, निर्देशकको ब्रान्डले पनि चल्छ । भारतमा हेर्ने हो भने एसएस राजमौली, रोहित सेट्टी, संजयलीला भन्साली, राजकुमार हिरानी लगायतका ब्रान्ड निर्देशक छन् । जसको फिल्म उनीहरुकै नामले चल्छ ।
नेपालमा भने निक्कै कम निर्देशकले मात्र ब्रान्ड बनाउन सकेका छन् । निर्देशकको नामबाट फिल्म चल्ने कुरामा नेपाली फिल्म धेरै पछि छ । तर, केही निर्देशकको नामैले दर्शकमा आशा भने पलाउँछ ।
यो बर्षको ७ महिनामा रिलिज भएका फिल्ममध्ये ७ वटा फिल्म बक्स अफिसमा चले । ‘ए मेरो हजुर ४ देखि महापुरुष’सम्म आइपुग्दा नेपाली फिल्मकर्मीका लागि सुखद सन्देश आइरहेको छ ।
तर, नेपाली फिल्मलाई कायलपलट नै गर्ने भन्दै कैयौं नयाँ अनुहार फिल्म क्षेत्रमा भित्रिन्छन् । तर, ती निर्देशकहरुको कामले खासै चर्चा पाउँदैन । कारण, उनीहरु दर्शकको स्वादबाट भड्किन्छन् र आफ्नो रोजाइका फिल्म बनाउन तल्लिन हुन्छन् ।
यो बर्ष पनि ७ महिनामा नेपाली फिल्मको व्यापार हेर्ने हो भने, दर्शकका लागि फिल्म बनाउने निर्देशक चलेका छन् ।
फिल्म ‘ए मेरो हजुर ४’लाई झरना थापाले निर्देशन गरेकी हुन् । हुनत, यो फिल्म ब्रान्डका कारण पनि चल्यो । तर, झरनाको नामले पनि हलमा दर्शक जान्छन् । झरनालाई अब ब्रान्ड बिनाको ‘भागवत् गीता’ चलाउने चुनौती भने छ ।
निर्देशक रामबाबु गुरुङ नेपाली फिल्म क्षेत्रका अर्का चर्चित निर्देशक हुन् । उनले निर्देशन गरेको ‘कबड्डी ४’ बक्स अफिसमा ब्लकबस्टर भयो । यो फिल्मको ब्रान्डले पनि दर्शकलाई हलसम्म तान्यो । यसैले, उनलाई पनि ‘फूलबारी’ हिट बनाउनुपर्ने चुनौती छ ।
यो बर्ष ब्रान्ड बिना नै हिट भएको पहिलो फिल्म हो, ‘झिंगे दाउ’ । यसका निर्देशक हुन्, ज्ञानेन्द्र देउजा । यो फिल्म हिट हुनुमा ज्ञानेन्द्रको निर्देशकीय क्षमताले काम गरेको छ । ज्ञानेन्द्र नेपाली फिल्ममा खारिएका निर्देशक हुन् ।
यो बर्ष ‘प्रेमगीत ३’ पनि हिट भयो । यो फिल्म हिट हुनुको मुख्यकारण त यसको नामको ब्रान्ड नै हो । सन्तोष सेन र स्वर्गीय छेतन गुरुङ यो फिल्मका निर्देशक हुन् । फिल्म कमजोर भएपनि ब्रान्डले यसलाई चल्न मद्दत गर्यो ।
यो बर्ष विना ब्रान्ड फिल्म हिट बनाएका अर्का निर्देशक हुन्, दीपेन्द्र लामा । ‘२ नम्बरी’ फिल्म हिट भएपछि दीपेन्द्र पनि फिल्म क्षेत्रमा छाएका छन् । उनले पनि यसअघि ‘घामपानी, गोपि, छ माया छपक्कै’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।
निर्देशक दीपेन्द्र के खनाल पनि सर्वाधिक चर्चामा छन् । उनलाई यो बर्ष ‘चिसो मान्छे’ असफल भएको पीडा ‘के घर के डेरा’ले भरिदियो । यो फिल्म हिट भएपछि दीपेन्द्रका लागि ठूलो राहत भयो । दीपेन्द्र पनि नेपाली फिल्मका चर्चित निर्देशक हुन् ।
निर्देशक प्रदीप भट्टराइले चौथो फिल्म पनि हिट दिदै दर्शकमा नयाँ छाप छोडेका छन् । उनी निर्देशित फिल्म ‘महापुरुष’ले बक्स अफिसमा तहल्का मात्र पिटिरहेको छैन, दर्शकबाट तारिफ पनि पाइरहेको छ । फिल्म क्षेत्रमा ‘जात्रा, जात्रै जात्रा, शत्रु गते’ जस्ता हिट फिल्म दिएर चर्चामा आएका प्रदीप यो बर्षको हिट निर्देशकको सूचीमा आएका छन् ।
यसरीहेर्दा, अहिलेसम्म हिट भएका फिल्मको सूची हेर्दा नाम चलेका निर्देशककै हालिमुहाली देखिएको छ । अब, बाँकी रहेको महिनामा नयाँ निर्देशकले कस्तो स्थान बनाउने हुन्, हेर्न बाँकी छ ।
प्रतिक्रिया