नेपाली फिल्मः बलिउड थ्रेटबाट बाहिरिदै, आफै उत्कृष्ट बन्नुपर्ने चुनौती
कार्तिकको ४ गते नेपाली फिल्म ‘के घर के डेरा’ रिलिज भयो । यो फिल्म चलेको ४ दिनपछि नेपालमा ‘थ्यांक गड’ नामक हिन्दी फिल्म रिलिज भयो, जसमा नायक अजय देवगण र सिद्धार्थ मल्होत्रा जस्ता कलाकार थिए । तर, यो फिल्मले ‘के घर के डेरा’को व्यापारमा कुनै पनि असर गरेन । यो फिल्म तेश्रो सातामा पनि सुखद व्यापार गर्दै चलिरहेको छ ।
नेपाली फिल्म ‘महापुरुष’ शुक्रबारबाट दोश्रो सातामा प्रवेश गर्यो । दोश्रो सातामा बलिउड फिल्म ‘फोन भूत’ नेपाल भित्रियो । कट्रिना कैफ जस्ती स्टार नायिकाको फिल्मले दोश्रो सातामा प्रवेश गरेको नेपाली फिल्मलाई कुनै पनि असर गरेन । दोश्रो साताको शनिबार पनि नेपाली फिल्मले बम्पर व्यापार गर्यो ।
हामीले माथि उल्लेख गरेका बलिउड फिल्मले भारतमा पनि निक्कै कमजोर व्यापार गरे । कोरोनापछि भारतमा चलेका थुप्रै फिल्ममध्ये ४ वटा फिल्मले मात्र निर्मातालाई ठूलो रकम फिर्ता गरिदिएका छन् । त्यसमा ‘द काश्मिरी फाइल्स’ बाहेक सबै साउथ फिल्म छन् । नेपाली फिल्म मेकरका लागि अब बलिउडका स्टार कलाकारहरु थ्रेट हुन छाडेका छन् । पहिले जस्तो कुनै स्टार कलाकारको नाममा भागदौड गर्नुपर्ने अवस्था अब छैन ।
तर, यसो भन्दै गर्दा मेकरले सहजै दर्शकमाझ जस्तो फिल्म पनि बनाएर ल्याउने छुट पाएका छैनन् । अब, नेपाली फिल्म मेकरलाई दर्शकको स्वाद चिनेर फिल्म बनाउनुपर्ने चुनौती छ । यदि, राम्रो फिल्म बनेन भने नेपाली फिल्मले पनि हावा खाएका उदाहरण प्रशस्त छन् ।
बलिउड फिल्म नेपाली दर्शकको रोजाइमा पहिलो जस्तो नपरेको सत्य हो । तर, झुर नेपाली फिल्मले पनि दर्शकको साथ पाएका छैनन् र पाउँदैनन् पनि । यसैले, अब नेपाली फिल्म मेकरलाई उत्कृष्ट फिल्म बनाउनुपर्ने चुनौती झनै थपिएको छ ।
प्रतिक्रिया