आमेषलाई राजु गिरीले पत्याए, ‘नम्बरी सुन’मा काम गर्दै

कुनै समय नेपाली फिल्म क्षेत्रमा राजु गिरी भन्ने वित्तिकै घिसिपिटी फिल्म बनाउने निर्देशक भनेर चिनिन्थ्यो । उनै, राजु लामो समयदेखि मौन छन् । अब, भने उनले ‘नम्बरी सुन’ नामक फिल्म निर्देशन गर्ने भएका छन् । यो फिल्ममा नायकको रुपमा आमेष भण्डारी अनुबन्धित भएका छन् ।

‘फूलै फूलको मौसम तिमीलाई’बाट फिल्म क्षेत्रमा राम्रै छाप छाड्ने अपेक्षा बोकेका आमेष चलेनन् । बरु, उनी म्यूजिक भिडियोमा काम गरिरहेका थिए । अब, भने उनलाई राजु गिरीले पत्याएका छन् ।

निर्देशक गिरीले यो फिल्मले झन्डै ७० बर्ष अगाडिको ऐतिहासिक सामाजिक कथा बताउने बताए । मंसिरको ७ गतेबाट यो फिल्मको छायांकन सुरु हुँदैछ । फिल्ममा राजेन्द्र खड्गीले पनि काम गर्दैछन् । लमजुङको भुजुङ्ग खोला, हेटौडा र काठमाडौंमा यो फिल्मको छायांकन हुनेछ । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मका प्रस्तुतकर्ता, निर्माता, गीतकार र कथाकार नारायण खाती हुन् ।

फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।