‘लाखे’को प्रिमियरः ठाउँ नपुगेर पत्रकार र फिल्मीकर्मी फर्किए, हेर्नेलाई पनि सकस

बुधबार बेलुकी फिल्म ‘लाखे’को प्रिमियर काठमाडौंको विश्वज्योती हलमा आयोजना गरियो । फिल्मको प्रिमियर कार्यक्रममा पुगेका अधिकांश पत्रकार र फिल्मीकर्मीले फिल्म हेर्न पाएनन् । धेरै पत्रकार फिल्म नहेरी फर्किएका थिए भने फिल्मीकर्मी पनि बाहिरै बसेका थिए ।

फिल्मको टिमले हलमा उपलब्ध सिट संख्या भन्दा झन्डै दोब्बर मानिस बोलाएपछि यस्तो समस्या उत्पन्न भएको हो । फिल्म हेर्न पुगेका केही फिल्मीकर्मी र पत्रकारले निक्कै सकसपूर्ण तरिकाले फिल्म हेरेका थिए । अस्तव्यस्त व्यवस्थापन र प्रिमियर कसका लागि किन गर्ने भन्ने नै मेकरले नवुझ्दा यस्तो समस्या देखिएको हो ।

फिल्मका कलाकार अर्पण थापाले पनि सिट नपाएर फिल्म हेर्न पाएनन् । नायिका रेजिना उप्रेती सिट नभएपछि हलबाट फिल्म नै नहेरि फर्किइन् । निर्देशक सविर श्रेष्ठ उभिएर फिल्म हेरिरहेका थिए । अधिकांश फिल्मीकर्मीले कि त अगाडिको सिटमा बसेर फिल्म हेरे, कि त निर्माणपक्षले हलबाटै ल्याएको सोफा, कुर्सीमा बसेर फिल्म हेरे ।

सम्राट बस्नेत निर्देशित यो फिल्मका लागि विश्वज्योतीको २ वटा पर्दा नै व्यवस्था गरिएको थियो । तर, प्रिमियरमा पुगेका फिल्मीकर्मी र पत्रकारका लागि एउटा हल व्यवस्था गरिदिएको भए धेरै हदसम्म राहत हुने थियो । तर, प्रिमियरको भाव नै नवुझेका मेकरले प्रिमियर त राखे, तर अर्थ न बर्थको ।

यो फिल्म भोलीबाट देशभर रिलिज हुँदैछ । फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशिल सिटौला, प्रशान्त ताम्राकार र वर्षा राउतको मुख्य भूमिका छ ।