यो बर्ष हिट हुन सक्छन् यी फिल्म

वर्षको ७ महिना बितिसक्दा ७ वटा फिल्म हिट भएका छन् । ‘कबड्डी ४’ले त बक्स अफिसमा ऐतिहासिक रेकर्ड नै बनाएको छ । यी बाहेक ‘ए मेरो हजुर ४, झिंगे दाउ, प्रेमगीत ३, २ नम्बरी, के घर के डेरा, महापुरुष’ बक्स अफिसमा हिट भए ।

यो बर्ष अझै पनि केही फिल्म यस्ता छन्, जसले बक्स अफिसमा हंगामा मच्चाउन सक्छन् । यहाँ हामीले केही यस्ता फिल्मको चर्चा गरेका छौं, जसले दर्शकको माया पाउने विश्वास गर्न सकिन्छ ।

यो बर्ष फिल्म ‘छक्का पन्जा ४’ले ब्लकबस्टर व्यापार गर्ने अनुमान लगाउन सकिन्छ । ऐतिहासिक रेकर्ड राख्न सफल फिल्मको चौथो सिरिज फागुणको १९ गतेबाट रिलिज हुँदैछ । हेमराज वीसीको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी लगायतका कलाकारको अभिनय छ ।

यही दिनबाट रिलिज हुन लागेको अर्को फिल्म ‘छड्के २’ पनि यो बर्ष हिट हुन सक्ने अर्को फिल्म हो । अनमोल केसीको स्टारडमका कारण फिल्म प्रतिक्षामा छ । यदि, फिल्मको कथा दर्शकलाई मन पर्यो भने फिल्मले बक्स अफिसमा ‘छक्का पन्जा ४’लाई चुनौती दिन सक्छ ।

यो बर्ष अपेक्षा गरिएको अर्को फिल्म हो, रामबाबु गुरुङको ‘फूलबारी’ । दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की अभिनित यो फिल्म फागुणको ५ गतेबाट रिलिज हुँदैछ ।

यही मितिमा रिलिज हुन लागेका ‘परदेशी २ र लण्डन टू पेरिस’ पनि प्रतिक्षामा रहन सक्छन् । तर, ‘फूलबारी’सँगको भिडन्त यी दुई फिल्मका लागि भारी पर्न सक्छ ।

फिल्म ‘डिसेम्बर फल्स’को फस्टलुकले पनि दर्शकमा नयाँ खालको तरंग उत्पन्न गरेको छ । यो फिल्म पौषको १५ गतेबाट रिलिज हुँदैछ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी यो फिल्मका मुख्य कलाकार हुन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको जोडीले काम गरेको फिल्म ‘तिम्रो मेरो साथ’बाट पनि आशा गर्न सकिन्छ । पौषको २९ गतेबाट रिलिज हुन लागेको फिल्मले बक्स अफिसमा निर्मातालाई राहत दिन सक्छ ।

यी बाहेक यो बर्ष ‘बर एन्ड बधु’ पनि रिलिज हुँदैछ । मिलन चाम्स निर्देशित यो फिल्ममा आँचल शर्मा र विवेक कर्माचार्य मुख्य भूमिकामा छन् । यो बर्ष अन्य केही फिल्म पनि रिलिज हुँदैछन् । तर, कपितय फिल्म नपत्याउने खोलाले बगाए जस्तै गरि हिट हुन सक्छन् ।

पछिल्लो समय कथावस्तुका कारण फिल्म चल्न थालेकाले पनि बक्स अफिस अनुमान सहजै भन्न सकिदैन । तर, स्टार कलाकार, व्यानर, निर्देशक आदिका कारण हामीले माथि केही हिट हुन सक्ने फिल्मको सूची बनाएका हौं ।