‘महापुरुष’: प्रदीपले मह जोडीलाई दिएको गुरु दक्षिणा

निर्देशक प्रदीप भट्टराइले फिल्म ‘जात्रा’बाट निर्देशन यात्रा थाल्नु अगाडि चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग डेढ दशक बिताए । उनीहरुबाट प्रदीपले थुप्रै कुरा सिके । आजको दिनमा प्रदीपले निर्देशनकलामा नयाँ आयाम थप्नुको पछाडि मह जोडीबाट सिकेका थुप्रै बिषय छन् ।

उनै, प्रदीपले मह जोडीको साथमा २ वटा फिल्म निर्देशन गरे । पहिलो फिल्म ‘शत्रु गते’ निर्देशन गरेका प्रदीपले दोश्रो फिल्म ‘महापुरुष’ निर्देशन गरे ।

फिल्म ‘शत्रु गते’ले बक्स अफिसमा बम्पर व्यापार गर्यो । फिल्मको समीक्षा सुखद आयो । यसपछि, मह जोडीले ‘दाल भात तरकारी’मा काम गरे । यो फिल्मले व्यापार औषत गर्दा समीक्षा पनि गतिलो पाएन । मह जोडीका लागि एउटा विशेष फिल्मको आवश्यकता थियो । सोही समयमा प्रदीपले ‘महापुरुष’ निर्देशन गरे । फिल्मले बक्स अफिसमा हंगामा मच्चाइरहेको छ ।

प्रदीप आफै पनि मह जोडीका लागि ‘महापुरुष’ आफ्नो गुरु दक्षिणा भएको स्विकार गर्छन् । उनले भने–‘मलाई मह जोडीका लागि एउटा विशेष फिल्म बनाउन मन थियो । जुन मैले महापुरुषबाट पुरा गरेँ । यो उहाँहरुका लागि मेरो गुरु दक्षिणा नै हो ।’

बक्स अफिसमा सुखद तरिकाले चलिरहेको यो फिल्मबाट हरिवंश आचार्यको भूमिकाको प्रशंसा भैरहेको छ । साथमा, हरिवंशले समाजमा एउटा नयाँ क्रान्ती फुकेको भन्दै प्रशंसा पनि भैरहेको छ ।