अवार्ड नपाएको करिश्माको गुनासो, आमाको भूमिका गर्न तयार

नायिका करिश्मा मानन्धरले आफूलाई सधै नै सुन्दरता र पहिरनको मामालामा मात्र चर्चा गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेकी छिन् । आज आयोजना भएको फिल्म ‘बगान’को पत्रकार सम्मेलनमा करिश्माले घुमाउरो तरिकाले आजसम्म आफूले एउटा पनि अवार्ड नपाएको भन्दै असन्तुष्टी पोखिन् । उनले, फिल्ममा आफूलाई बलियो भूमिका भन्दा पनि सुन्दरता र पहिरनमा नै बढी ध्यान केन्द्रित गराइएको बताइन् ।

करिश्माले भनिन्–‘मलाई कहिले पनि गम्भिर खालका भूमिकामा अफर गरिएन । सायद, मैले गर्न सक्छु भन्ने मेकरलाई नलागेको हुनसक्छ । यसैले, मेरो चर्चा धेरै पहिरन र सुन्दरताको नै भयो ।’

तर, आफू राम्रो भूमिका पाएको खण्डमा आमाको मात्र नभएर हजुरआमाको भूमिकामा पनि काम गर्न तयार रहेको करिश्माको भनाई थियो । करिश्माले अफर आयो भन्दैमा आफूले यत्रो समय लगाएर बनाएको करिअरलाई दाउमा राख्न नसक्नेतर्फ संकेत गरिन् । आफ्नो भूमिका हेर्दा दर्शक निराश हुन नहुने उनको भनाई थियो ।

करिश्माले फिल्म ‘बगान’लाई आफ्नो करिअरको दोश्रो इनिङ समेत भनेकी छिन् ।