एकल महिलाको कथामा ‘बगान’, सार्वजनिक भयो ‘उडी छुनु’ गीत

सरोज खनालको निर्देशन तथा सुरेश वाग्लेको निर्माणमा तयार भएको फिल्म ‘बगान’को ‘उडी छुनु छ’ बोलको गीत सार्वजनिक गरिएको छ । साथमा, यो फिल्मलाई फागुणको १२ गतेबाट नेपालभर रिलिज गर्ने तयारी समेत गरिएको छ ।

विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा नायिका करिश्मा मानन्धर मुख्य भूमिकामा छिन् । उनलाई नयाँ कलाकार प्रमिला कार्कीले छोरीको रुपमा साथ दिएकी छिन् । फिल्ममा निर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

आज आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक सरोज खनालले यो फिल्मबाट एकल महिलाको कथा भन्ने बताए । उनले भने–‘अहिले बुबाको बिहे देखाइएको फिल्म महापुरुष भव्यताका साथ प्रदर्शन भैरहेको छ । तर, हाम्रो फिल्मले एकल महिलाले किन बिहे गर्नु हुँदैन भन्ने प्रश्न उठाउँछ ।’

यो गीतमा बानिका प्रधानको स्वर, सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत छ । फिल्ममा गौरी शंकर धुजुको छायांकन, सन्देश शाहको सम्पादन छ । यही फिल्मबाट सरोज खनालले ठूलो पर्दाको फिल्म निर्देशनमा हात हालेका छन् ।