नेपाली फिल्मका लागि सुखद बन्दै २०७९ः ७ महिनामा ७ फिल्म हिट

आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘लाखे’लाई छाड्ने हो भने, नेपाली फिल्मले सात महिना सुखद तरिकाले बिताएको छ । अपेक्षित केही फिल्म नचलेपनि यो बर्षको सातौ महिना चलिरहँदा दर्शकले नेपाली फिल्मप्रति उत्साह देखाएका छन् । अझ, पारिवारिक फिल्ममा दर्शकको भीड लागेको देखिन्छ ।

यो बर्षको सुरुवातमा रिलिज भएको फिल्म ‘ए मेरो हजुर ४’ले ‘केजीएफ २’सँग जुधेका कारण अपेक्षित व्यापार गरेन । तर, फिल्मले निर्मातालाई घाटा हुन दिएन । जेठमा रिलिज भएको फिल्म ‘कबड्डी ४’को ऐतिहासिक व्यापारको रेकर्ड तोड्न अब कुन फिल्मले सक्छ थाहा छैन । यो फिल्म बर्षकै ब्लकबस्टर हुने देखिएको छ ।

असार र साउन महिना नेपाली फिल्मका लागि सुखद देखिएन । यो महिना रिलिज भएका केही फिल्म चलेनन् । ‘चिसो मान्छे, पानी फोटो’ लगायतका फिल्म अपेक्षित भएपनि चलेनन् । भदौमा फिल्म रिलिजको बाढी नै आयो । तर, यो महिना सबैलाई अचम्मित बनाउँदै फिल्म ‘झिंगे दाउ’ बक्स अफिसमा सफल भयो ।

असोज महिना नेपाली फिल्मका लागि सुखद बन्यो । यो महिनामा ‘प्रेमगीत ३ र २ नम्बरी’ बक्स अफिसमा चम्किए । ‘बाबरी’ फिल्म अपेक्षा गरिएपनि आशा गरे अनुसार चलेन ।

कार्तिकमा ‘के घर के डेरा र महापुरुष’ बक्स अफिसमा चम्किए । दुबै फिल्मले निर्माताको लगानी मात्र जोगाएनन्, दर्शकको ठूलो भीड हलमा जम्मा गर्न सफल भए ।

हिट भएका ७ फिल्ममा ‘प्रेमगीत ३ र ए मेरो हजुर ४’ मात्र लभ स्टोरी कथामा बनेका छन् । अरु, सबै फिल्म पारिवारिक कथामा छन् । यसर्थ, दर्शकको ठूलो संख्या हलमा ल्याउन अब परिवारका सबै सदस्यले एकसाथ बसेर हेर्न सक्ने फिल्मको खाँचो रहेको प्रष्ट हुन्छ । तर, बर्षको सातौ महिना चलिरहँदा नेपाली फिल्मलाई भने फलिफाप भैरहेको छ । अझै, ५ महिनामा थुप्रै अपेक्षित फिल्म भएकाले यो बर्ष दर्जन फिल्म हिट हुने अड्कल लगाउन सकिन्छ ।