३ करोड ६३ लाख कमाउँदै ‘के घर के डेरा’को लगानी सुरक्षित भएको निर्माताको दाबी

दोश्रो साताको शुक्रबार पनि बम्पर कारोबार गरिरहेको नेपाली फिल्म ‘के घर के डेरा’ले लगानी सुरक्षित गरेको निर्माणपक्षले बताएको छ । निर्माता शरद श्रेष्ठले मिडियाकर्मी र दर्शकलाई धन्यवाद दिदै सार्वजनिक गरेको विज्ञप्तीमा फिल्मले एक सातामा ३ करोड ६३ लाखको ग्रस कलेक्शन भएको उल्लेख छ ।

फिल्मले ३ करोड ६३ लाख ग्रस गर्दै आफूहरुको लगानी सुरक्षित गरेको शरदको भनाई छ । फिल्म आजबाट दोश्रो सातामा प्रवेश गरेको छ र तिन दिनको बिदामा आक्रामक कमाई गर्ने देखिएको छ ।

दीपेन्द्र के खनाल निर्देशित यो फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

फिल्मलाई दर्शकले रुचाएका छन् । घर र डेरामा बस्नेहरुको समस्या उठान गरेको फिल्मले तिहारको बिदाको भरपुर सदुपयोग गरेको छ । महेश दवाडीले यो फिल्मको पटकथा तथा संवाद लेखेका हुन् ।