‘महापुरुष’को आक्रामक सुरुवात, बिहानैबाट हलमा दर्शकको बाक्लो उपस्थिती

तिहार सकिएपनि दर्शकको मनोरञ्जन लिने चाहनामा कमी आएको छैन । तिहारको भाइटिकाको भोलीपल्ट अर्थात आजबाट देशभर रिलिज भएको नेपाली फिल्म ‘महापुरुष’ले बिहानैबाट आक्रामक सुरुवात गरेको छ । बिहान ८ र साढे ८ बजेको शोजमा दर्शकको उपस्थिती उच्च छ ।

कतिपय हलमा ९० प्रतिशत भन्दा माथि र कतिपय हलमा ७० प्रतिशत भन्दा माथि दर्शकको अकुपेन्सी छ । मध्यान्नबाट दर्शकको उपस्थिती झनै आक्रामक हुने देखिएको छ ।

शुक्रबार, शनिबार र आइतबारको बिदाले फिल्मको व्यापारमा उछाल ल्याउने निश्चित छ । अर्कोतिर, प्रदीप भट्टराइले यसपटक दर्शकको मनोभावना वुझेर फिल्म बनाएका छन् । जसकाकारण, फिल्मको वर्ड अफ माउथ सुखद आउने विश्वास गर्न सकिन्छ ।

बिहानैबाट दर्शकको उपस्थिती हलमा बाक्लो देखिएपछि यसका मुख्य कलाकारहरु हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अरुना बराइली लगायत हलमा पुगेका छन् । उनीहरु बिहानै ललितपुरको लाबिम मल र सुनधाराको सिभिल मलमा पुगेका हुन् ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा म्याक्स दिपेश खत्रीको लगानी छ । फिल्मले बाबु र छोराको कथा भन्छ । २ घन्टा भन्दा लामो फिल्मले दर्शकलाई कैयौं पटक हसाउँछ भने कैयौं पटक रुवाउँछ । जसकाकारण, यो फिल्म लामो रेशको घोडा भन्ने अनुमान लगाउन सकिन्छ ।