‘के घर के डेरा’लाई दर्शकको उच्च साथ किन ?

शिर्षकमा उल्लेख गरिएको बिषयलाई प्रस्तुत गर्नु भन्दा अगाडि, फिल्म ‘के घर के डेरा’का निर्देशक दीपेन्द्र के खनाललाई आगामी दिनमा यस्तो फिल्म बनाउने छुट छैन है भनेर हामी सजग गराउन चाहन्छौं । किनकी, दीपेन्द्र जस्ता सफल निर्देशकले जुनसुकै कथामा जस्तोसुकै शैलीको फिल्म बनाउन सक्लान् । तर, फिल्म भित्र उनलाई भड्किने छुट छैन । जसरी, उनी फिल्म ‘के घर के डेरा’मा भड्किएका छन् ।

यसो भन्दै गर्दा, अब शुक्रबारदेखि रिलिज भैरहेको फिल्म ‘के घर के डेरा’लाई दर्शकले किन यति ठूलो साथ दिइरहेका छन् भन्ने बिषयमा चर्चा गरौं ।

शुक्रबारदेखि रिलिज भएको यो फिल्मले पहिलो सातामा सुखद कमाई गर्यो । शुक्रबार, आइतबार र सोमबारको व्यापार औषत भएपनि अन्य दिनको व्यापार उच्च छ । आज टिकाको दिनमा २ बजेपछि देशभरका हलहरु खुलेका छन् । हल खुलेसँगै दर्शकको चाप पनि हलमा बाक्लो हुन थालेको छ । बेलुकी साढे ८ बजेसम्मका शोजहरुमा दर्शकको अकुपेन्सी उच्च हुने देखिएको छ ।

समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो फिल्मलाई दर्शकले किन रुचाए ? किन हलमा दर्शकको चाप कम भएको छैन ?

मुख्यकुरा त यो फिल्मलाई तिहारको बिदाले ठूलो फाइदा गर्यो । तिहारको बिदामा हलसम्म गएर फिल्म हेर्ने सोच धेरैको हुन्छ । अझ, यस्तो समयमा परिवारसहित हेर्न मिल्ने फिल्मले गज्जबको व्यापार गर्छन् । ‘के घर के डेरा’ पारिवारिक फिल्म हो । यसैले, तिहारको बिदा मनाउँदै गर्दा दर्शकहरु परिवारसहित हल पुगे ।

अर्कोतिर, यो फिल्मको नाम । फिल्मको नामले नै काठमाडौंमा घर भएकाहरु र डेरामा बस्नेहरु एकपटक त यो फिल्म हेर्नुपर्छ है भन्ने सोचमा पुगेको पाइन्छ । जसलेगर्दा, हलमा फिल्म नै हेर्न नजाने दर्शक पनि हलसम्म पुगेका छन् ।

यस्तै, फिल्मका मुख्य कलाकार दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तमाथि दर्शकको विश्वास । यी कलाकारको नामले पनि फिल्म चल्नमा केही न केही फाइदा गर्यो ।

फिल्मको संवादले दर्शकलाई खुबै हसाँउछ । विपिन कार्कीले बोल्ने संवादले दर्शकहरुले हलमा मनोरञ्जन लिएका छन् । फिल्मलाई मनोरञ्जनको मुख्य कारण मान्ने हो भने यसले दर्शकलाई दिक्कै बनाएको छैन ।

यस्तो बिदामो समयमा ठिकठाक फिल्महरुलाई पनि दर्शकले रुचाएको पाइन्छ । अझ, कमेडी र कलाकारहरुको रमाइलो अभिनय हेर्न हलसम्म दर्शक पुगेको उदाहरण यसअगाडि पनि देखिएको हो । यसपटक फिल्मले यही फाइदा उठाएको छ ।

फिल्मले यसपटक गतिलो विदेशी फिल्म नआउनुको फाइदा पनि उठाएको छ । मंगलबारबाट नै रिलिज भएका ‘थ्यांक गड र राम सेतु’मध्ये ‘राम सेतु’ नेपालमा रिलिज भएन । अर्को फिल्म ‘थ्यांक गड’को समीक्षा पनि गतिलो आएन । यो फिल्मले तिहारमा परिवारविच बसेर रमाइलो गर्दै फिल्म हेर्ने दर्शकको चाहना पुरा गर्दैन । जसको फाइदा ‘के घर के डेरा’लाई भएको छ ।