एक सातामै हलबाट किन उत्रियो ‘नालापानी’ ?

रिमेश अधिकारीले लामो समय लगाएर फिल्म ‘नालापानी’ तयार पारे । नेपालमा यस्ता ऐतिहासिक कथामा फिल्म बनाउने हिम्मत मेकरको छैन भन्दा पनि हुन्छ । तर, बागबजारको हार्दिक होटलमा केही बर्ष अगाडि घोषणा भएको यो फिल्म बनाउन रिमेशलाई लामै समय लाग्यो ।

तर, रिमेशले बर्षौ समय लगाएर बनाएको फिल्म हलबाट उत्रन भने एक साता पनि लागेन । यो फिल्मले ‘नालापानी’को युद्धमा बलभद्र कुँवरको टिमले कसरी अंग्रेजहरुसँग युद्ध लडेको थियो भन्ने कथा भन्छ ।

तर, यो फिल्मलाई दर्शकले खासै रुची देखाएनन् । एक सातामै यो फिल्म हलबाट उत्रियो । फिल्मको व्यापार पनि निक्कै कमजोर छ । यो फिल्मसँग चलेको ‘के घर के डेरा’ नामक फिल्मले दर्शक हलमा बटुलिरहँदा यो फिल्ममा भने दर्शक आएनन् ।

आखिर, एउटा ऐतिहासिक कथामा बनेको फिल्ममा दर्शकको रुची नहुनुको कारण के होला ? नेपालमा कृतीमाथि बनेका फिल्महरुलाई पनि दर्शकले खासै रुचाएको पाइदैन ।

रिमेशले फिल्मको प्रचार गर्नै सकेनन् । फिल्मको बारेमा दर्शकलाई भन्नै सकेनन् । उनको फितलो प्रचार बरु विकास बोर्ड अध्यक्ष र ‘के घर के डेरा’का निर्देशकमाथि बढी पोखियो । फिल्मको समीक्षा पनि सुखद आएन । विशेषगरि, फिल्मको मेकिङमा मेकरले हिम्मत गरेपनि अपेक्षित रुपमा फिल्म बन्न सकेको छैन ।

एउटा ऐतिहासिक कथामा फिल्म बनेको छ भन्दैमा दर्शकले हेर्दैनन् । दर्शकलाई फिल्मको प्रचार सामाग्री मन पर्नुपर्छ । तर, यो फिल्मको प्रचार सामाग्रीमा दर्शकको आँखा गएन । जसकाकारण, फिल्म एक साता पनि हलमा टिक्न सकेन ।