दयाहाङदेखि विपिनसम्मको यस्तो लुक ‘फूलबारी’मा

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘फूलबारी’का कलाकारहरुको क्यारेक्टर झल्कने तस्विरहरु सार्वजनिक भएका छन्। निर्देशक रामबाबु गुरुङले फिल्ममा भएका कलाकारको लुक सार्वजनिक गरेको हुन् ।

फागुन ५ मा प्रदर्शन मिति तोकेको फिल्म ‘फूलबारी’ फिल्मका कलाकारको लुक तिहारको अवसर पारेर सार्वजनिक गरिएको हो । सार्वजनिक भएका तस्विरमा फिल्मका मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, अरुणा कार्की, शिल्पा मास्के, पशुपति राई आदिको लुक देख्न सकिन्छ ।

क्यारेक्टर झल्कने तस्विरहरु मध्यमा अभिनेता विपिन कार्कीको लुक्स अलग छ । उनी पाको उमेरको पुरुषको रुपमा चित्रित छन् । गालामा गलबन्दी, शिरमा टोपी र आँखामा चस्मा लगाएका उनका दाह्री-जुँगा फुलेको देख्न सकिन्छ । तस्विरअनुसार अरुणा कार्कीले विपिनको श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् ।

यसैगरी अन्य तस्विरमा फिल्ममा दयाले पशुपति राईसँग जोडी बाँधेका छन् । रामबाबुले निर्देशन गरेको यो फिल्म महंगो बजेटमा निर्माण भएको हो । फिल्मका लागि विपिन कार्कीदेखि प्रियंका कार्कीसम्मले महंगो पैसा लिएको चर्चा छ ।

यो फिल्मको कथावस्तु बलिउड फिल्म ‘बागवान’बाट प्रेरित रहेको  निर्माण अगावै बताइएको छ । यो अनुमानलाई बल पुग्ने गरी ‘बागवान’को नेपाली अर्थ ‘फूलबारी’ हुने र यही नाममा फिल्मको नाम राखिएको छ ।

मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणीराम पोखरेल हुन् । ‘फूलबारी’लाई यशोधा फिल्मस्ले निर्माण गरेको हो । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् ।

तस्विर: निर्देशक रामबाबु गुरुङको फेसबुकबाट साभार