तिहार बिदाले ‘के घर के डेरा’ को व्यापार उकालो
गत शुक्रवार अथार्त कार्तिक ४ देखि प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’को व्यापार लगातार उकालो लागिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मले तिहारको लामो बिदाको फाइदा उठाउँदै दर्शक हलसम्म तान्न सफल भएको छ । शुक्रवार आशावादी व्यापार गरेको यो फिल्मले शनिवार देखि देशभर हाउसफुलको व्यापार गर्यो ।
आइतबार अकुपेन्सीमा केही गिरावट देखिए पनि सोमबारबाट अकुपेन्सी पुनः उकालो लागेको छ । मङ्गलवार गाई तिहारको दिन अधिकांश सोज हाउसफुल भएका छन् । राजधानीका क्यूएफएक्स, एफक्यूब, बिग मुभिज, आइएनआई सिनेमाजलगायतका मल्टिप्लेक्समा दर्शक चाप उच्च देखिएको छ ।
पूर्णत मनोरञ्जनात्मक फिल्म भएका कारण दर्शकको पहिलो रोजाइ ‘के घर के डेरा’ बनेको छ । फिल्मको व्यापार र ‘वर्ड अफ माउथ’ बलियो बन्दा निर्माण पक्षमा खुसी छाएको छ । ‘आज मङ्गलवारको व्यापार एकदमै राम्रो छ । अस्ति शनिवारको भन्दा धेरै दर्शक चाप देखिएको छ । सोहरू बढिरहेको छ । आज र भोलिको लागि पनि नाइट सो थपिएका छन् । दिउँसोदेखिका सबै सोज हाउस फुल भइरहेका छन् ।’ निर्देशक खनालले भने ।
‘वर्ड अफ माउथ’ बलियो देखिएकाले फिल्मले धेरै दिनको यात्रा तय गर्न सक्नेमा निर्देशक खनाल आशावादी देखिए ।
खनालले भने, ‘व्यापारसँगै यस्को दर्शक प्रतिक्रिया उत्कृष्ट पाइराखेका छौँ । दर्शकले भरपुर मनोरञ्जन लिनुभएको छ । फिल्मको कथावस्तु, यसको प्रस्तुति र कलाकारहरूको अभिनय विशेष रूपमा मन पराउनु भएको छ । आशा छ, फिल्मले लामो यात्रा तय गर्न सक्ला ।’
यसअघि ‘पशुपति प्रसाद’ र ‘आमा’ जस्तो गम्भीर सिनेमा निर्देशन गरेर सफलता हासिल गरेका निर्देशक खनालको ‘के घर के डेरा’लाई दर्शकले मनोरञ्जनको प्याकेज भनेका छन् । मङ्गलवारकै रफ्तारमा व्यापार भएको खण्डमा फिल्मले भाइटिकासम्म लगानी सुरक्षित गर्ने सङ्केत दिएको खनालले बताए ।
काठमाडौँमा बस्ने डेरावाल र घरबेटी बिचको कथा भन्ने फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रवीन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, कोसिस क्षेत्रीलगायतका कलाकारहरूको अभिनय छ ।
सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद रहेको फिल्ममा शंकर थापा (स्माइल) र कोसिस क्षेत्रीको सङ्गीत, सूर्य ठोकर एक्सन, दीर्घ गुरुङको छायाङ्कन र दीर्घ खड्काको सम्पादन छ ।
युवराज कार्कीको कार्यकारी निर्माण रहेको फिल्ममा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको लगानी छ ।
प्रतिक्रिया