महापुरुषः एकल बाबुको बिहेको बहस उब्जाएको एक शक्तिशाली सिनेमा

‘आवाज’

‘दाल भात तरकारी’ हेरिसकेपछि मलाई लागेको थियो, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ जस्ता शक्तिशाली कलाकारले यस्तो फिल्म खेल्नु हुँदैन । कारण, लाखौं मानिसले मह जोडीलाई अनुसरण गर्छन् । उनीहरु व्यवसायिक धारमा मात्र अलमलिए भने समाजमा क्रान्तीका नयाँ प्रश्न कसले उब्जाउँछ ? हुनत, यो प्रश्न प्रदीप भट्टराइले नै निर्देशन गरेको अर्को फिल्म ‘शत्रु गते’ हेर्दा पनि लागेको थियो । तर, व्यवसायिक रुपमा सुपरहिट भएको यो फिल्मले मह जोडीलाई नयाँ उचाईमा त लगेन, कमर्सियल रुपमा भने हिट बनाइदियो ।

कुनै समय मह जोडीले नै नेपाली जनतामाझ कुष्णरोग, भ्रष्टाचारदेखि थुप्रै बिषयमा आवाज उठाएका थिए । लामो समयदेखि उनीहरुबाट दर्शकले केही नयाँ सोचको फिल्म पर्खिरहेका थिए ।

आउँदो शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘महापुरुष’को आइतबार नै प्रिमियर गरियो । एक हजार बढी मानिसलाई निम्तो गरेर फिल्मका निर्माताले करिब ६ दिन अगाडि नै फिल्मको प्रिमियर गर्ने आँट गर्नु, कम्ता चुनौतीपूर्ण र जोखिमपूर्ण कुरा होइन । किनकी, ६ दिनसम्म फिल्मको बारेमा नकारात्मक समीक्षा बजारमा गयो भने, शुक्रबार नै फिल्म चैट हुने खतरा हुन्छ । तर, प्रदीप भट्टराई, रविन्द्र सिंह बानियाँ र म्याक्स दीपेश खत्रीले यो आँट गरे ।

‘महापुरुष’ हेर्दै गर्दा कैयौं पटक मेरा आँखा रसाए । कैयौं पटक हाँसोले हल गुञ्जिए । कैयौं पटक सोच्न वाध्य बनायो । कैयौं पटक यो फिल्मले मनमा प्रश्न उब्जाइरह्यो ।

‘महापुरुष’मा व्यवसायिक फिल्म भित्र हुनुपर्ने सबै तत्वहरु छन् । तर, यति भन्दा भन्दै यो फिल्मले क्रान्तीकारी भाषा बोल्छ । हाम्रो समाजले देखेर पनि नदेखेको जस्तो गरेको एकल बाहरुको कथा भन्छ । छोराछोरीका लागि आफ्ना खुशी तिलाञ्जली दिदै अध्यारो कोठाभित्र खुम्चिएका भगवान्हरुको कथा भन्छ ।

अनी भन्छ, बाहरुलाई ‘महापुरुष’ बनाउने नाममा कतै अहिलेको पुस्ताले उनीहरुको खुशी र स्वतन्त्रता त खोसेको छैन ? आफ्नो इज्जत जोगाउने नाममा कतै बाहरुलाई पिजडामा थुनेर त राखिएको छैन ? प्रश्नै प्रश्न खडा गर्ने एउटा सशक्त फिल्म हो ‘महापुरुष’ ।

यति भन्दै गर्दा राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ जस्ता कलाकारको कमेडी टाइमिङले दर्शकलाई मुर्छा मारेर हसाउँछ । बा हुनेले पनि बालाई संझन्छन्, नहुनेले पनि आफ्ना बालाई संझन्छन् । हरिवंश र मदनकृष्णको जोडीले प्रदीप भट्टराइसँग मिलेर एउटा नयाँ बिषयमा बहस छेडिदिएका छन् । यो बहसले विस्तारै समाजमा कुनै न कुनै रुपमा प्रभाव पार्ने निश्चित छ ।

यो ‘महापुरुष’को समीक्षा होइन । किनकी, यो फिल्ममाथि समीक्षा गर्न भन्दा बहस गर्न आवश्यक छ । यसको बिषयवस्तुलाई लिएर घर घरमा बहस हुन आवश्यक छ । एउटा बलियो बिषयलाई समातेर मन छुने कथा बनाइदिएकोमा प्रदीप भट्टराइलाई साधुभाव । मह जोडीले फेरि अर्को सशक्त फिल्म खेलेकोमा बधाई । गौरी मल्ल, सिरु बिष्टलाई विर्सन मिल्दैन ।

अनी, यो फिल्मबाट नेपाली फिल्म क्षेत्रले अरुण क्षेत्री नाम गरेका एक सशक्त कलाकार पाएको छ । नायकको अभाव भएको यो क्षेत्रमा अरुण धपक्कै बल्ने निश्चित छ । ‘महापुरुष’ तपाइले छुटाउनुभयो भने, बर्षौसम्म पछुताउनुहुनेछ । अझ, आफ्नो परिवारसँग फिल्म हेर्न जानुभयो भने छुट्टै आनन्द आउनेछ । ‘महापुरुष’ साच्चिकै गज्जब छ ।