महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गरेका थियो भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिएका थिए । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए ।
विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशु कवित्वको क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिकरुपमा पनि देवकोटा पनि सक्रिय हुरहेका थिए । यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो । विसं २००२ मा किनेर २००४ सालमा देवकोटा सर्नुभएको मैतीदेवीस्थित घरलाई गत असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रुपमा स्थापित गरिएको छ ।
महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो ।
नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत शुक्रबारदेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।

एडीबी-नेपाल सहकार्यका ५ दशकबारे फोटो प्रदर्शनी

हेम प्रभासको कवितासंंग्रह ‘साँझमा सेल्फी’ लोकार्पण

'डोटी साहित्य उत्सव-२०८१'बाट पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

लोकगायक एवं संस्कृत विद् यज्ञराज उपाध्यायलाई यशश्वी प्राज्ञ पुरस्कार प्रदान

‘खुल्ला कविता प्रतियोगीता’ आयोजना हुने

सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्…

प्रतिक्रिया