‘दुई नम्बरी’ निर्माण टिमले बुझायो बोर्डलाई स्पष्टीकरण, थपिएको पाइएमा कारबाही भोग्न तयार छौँ

फिल्म ‘दुई नम्बरी’ निर्माण टिमले दिएको चलचित्र विकास बोर्डलाई स्पष्टीकरण बुझाएको छ ।

फिल्मका निर्माता किरण नेपालीले बोर्डलाई बुझाएको स्पष्टीकरणमा सेन्सर कपीमा नसमेटिएका दृश्य वा संवाद नयाँ संस्करणमा नथपेको स्पष्ट पार्दै यदि थप भएको पाइएमा कारबाही भोग्न तयार रहेको बताएका छन् । उनले ‘दुई नम्बरी’ को नयाँ संस्करणका बारेमा पत्रपत्रिका वा अनलाइनहरूमा प्रकाशित समाचारलाई आधिकारिक नमानिदिन पनि आग्रह गरेका छन् ।

‘उपरोक्त सम्बन्धमा चलचित्र ‘दुई नम्बरी’ को नयाँ संस्करणका बारेमा पत्रपत्रिका वा अनलाइनहरूमा प्रकाशित समाचारलाई आधिकारिक नमानिदिन हुन अनुरोध गर्दछु । आधिकारिक कुरा निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामाले आफ्नो फेसबुक पेजमा स्ट्याटसमार्फत उल्लेख गरेका छन् ।

उक्त स्ट्याटसमा फिल्मको लम्बाइ हेरफेर गरिएको कतै उल्लेख छैन । हामीले फिल्मका ध्वनि र कलरमा देखिएका केही प्राविधिक त्रुटिलाई संशोधन गरेर तेस्रो हप्तादेखि हलमा पठाएका हौँ । त्यसैलाई अडियो र भिडियो दुवै पक्षमा परिमार्जन गरिएको भनिएको हो । हामीले सेन्सर कपीमा नसमेटिएका दृश्य वा संवाद नयाँ संस्करणमा थपेका छैनौँ । थपिएको पाइएमा कानुन बमोजिम कारबाही भोग्न तयार छौँ,’ निर्माता नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘फिल्मलाई नाना थरीका स्पष्टीकरण सोध्ने यो बोर्डको कदम संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको समेत ध्यानाकर्षण गराउन चाहन्छौँ । कला र सिर्जनामाथि अङ्कुश लगाइरहने हो भने गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य रहँदैन ।’