‘के घर के डेरा’लाई मिश्रित प्रतिक्रिया, शनिबार सुखद व्यापार
शुक्रबारदेखि रिलिज भएको फिल्म ‘के घर के डेरा’ले शनिबार सुखद कमाई गरेको छ । शुक्रबार अपेक्षित ओपनिङ नगरेको यो फिल्मले शनिबार भने दर्शकको राम्रो साथ पायो । शनिबारको व्यापार ८० प्रतिशत भन्दा बढी रहेको निर्माणपक्षको भनाई छ ।
दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई समिक्षकले भने मिश्रित प्रतिक्रिया दिएका छन् । दर्शकबाट पनि फिल्मलाई मिश्रित प्रतिक्रिया छ । तर, शनिबार दर्शकको राम्रो साथ पाएको यो फिल्मले तिहारको एक साता लामो बिदाको फाइदा उठाउन सक्छ ।
तर, मंगलबारबाट रिलिज हुन लागेको हिन्दी फिल्म ‘थ्यांक गड’को समीक्षा राम्रो आएको खण्डमा यो फिल्मलाई केही असर पर्न सक्छ । दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले लगानी उठाउन ५ करोड माथिको ग्रस कलेक्शन गर्नुपर्ने हुन्छ ।
घरवेटी र डेरावालाको समस्यालाई रोचक र कमेडी शैलीमा प्रस्तुत गरिएको भन्दै दर्शकले यसलाई राम्रो भनेका छन् । केही दर्शकले भने फिल्म लामो भएको प्रतिक्रिया दिएका छन् । जेहोस्, शनिबारको व्यापारले निर्मातालाई उत्साहित बनाएको छ ।
प्रतिक्रिया