अभिनेत्री ज्याकलिनलाई गिरफ्तार नगर्न अदालतकाे आदेश
सुकेश चन्द्रशेखरसँग जोडिएको दुई सय करोड ‘मनी लन्ड्रिङ’ मुद्दामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिवार पटियाला हाउस कोर्टमा उपस्थित भइन् । बयान दिन उपस्थित उनलाई अदालतले आगामी सुनुवाइसम्म गिरफ्तार नगर्न आदेश दिएको छ । यो मुद्दाको आगामी सुनुवाइ १० नोभेम्बरमा हुनेछ ।
अदालतले प्रवर्तन निर्देशनालय (इडी)लाई ज्याकलिनको जमानत याचिकामाथि जवाफ दिन भनेको थियो । इडीले भने जवाफ पेस गर्नका लागि समय मागेको छ । अदालतले ज्याकलिनको वकिललाई आफ्नो चार्ज सिटको कपी सबै आरोपीलाई दिएको छ कि छैन भनेर सोधेको थियो । जवाफमा वकिलले आफूलाई इडीले अदालतमा दिने भने पनि हालसम्म नपाएको बताएका थिए ।
सुकेश हाल जेलमा छन् । सुकेशमाथि कैयौँ व्यक्तिलाई ठगेको आरोप छ । गत १७ अगस्टमा इडीले चार्ज सिट दर्ता गराएको थियो । जसमा ज्याकलिनलाई पनि २ सय करोडको रकम असुलीमा आरोपी पाइएको थियो । यसमा कैयौँ साक्षी र प्रमाणलाई आधार बनाइएको थियो । यसपछि अदालतले उनलाई पत्र पठाएको थियो । आफूमाथि आरोप लागेपछि ज्याकलिनले वकिलमार्फत जमानतको याचिका दर्ता गरेकी थिइन् ।
यो मुद्दालाई लिएर इडीले कैयौँ पटक ज्याकलिनमाथि सोधपुछ गरेको छ । सोधपुछमा आफूले सुकेशसँग विवाह गर्न चाहेको खुलासा गरेकी थिइन् । दिल्ली पुलिसको आर्थिक अपराध शाखाले पनि ज्याकलिनसँग १५ घण्टा सोधपुछ गरेको थियो ।
प्रतिक्रिया