बिहानी शोजमा कमजोर नेपाली फिल्म, के उठाउलान् बिदाको फाइदा ?

आजबाट २ नेपाली फिल्म हलमा लागेका छन् । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘के घर के डेरा’ र रिमेश अधिकारीको निर्देशनमा तयार भएको फिल्म ‘नालापानी’ आजबाट रिलिज भएका हुन् । विशेषगरि, ‘के घर के डेरा’ले मल्टिप्लेक्समा उच्च शो पाएको छ । यसैले, पनि फिल्मको बुकिङ सुखद हुने अपेक्षा गरिएको थियो ।

तर, बुकिङमा कमजोर देखिएको फिल्मको बिहानी शोज पनि सुखद देखिएको छैन । विशेषगरि, बिहान ८ बजे र ११ बजेका शोजमा दर्शकको उपस्थिती न्यून छ ।

धेरै नेपाली फिल्ममा दिउँसो र बेलुकीका शोजमा दर्शकको चाप बढेको देखिन्छ । ‘के घर के डेरा’का लागि पनि यही शैली लागू हुने अपेक्षा गर्न सकिन्छ । ट्रेलरबाट नै चर्चा पाएको यो फिल्मले तिहारको लामो बिदाको फाइदा उठाउन सक्छ । दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मको बाँकी शोजको व्यापारको अपडेट हामी गराउनेछौं ।

यस्तै, ऐतिहासिक कथावस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’ले पनि बिहानी शोजमा दर्शकको साथ पाएन । न्यून प्रचारप्रसारको असर फिल्मको इनिसियल व्यापारमा देखिएको छ । मल्टिप्लेक्समा हलिउड फिल्म ‘ब्ल्याक एडम’मा दर्शकको उपस्थिती आक्रामक छ ।