‘नाई नभन्नु ल ६’को छायांकन सुरु, संचिताका छोराको डेब्यू
प्रतिक्षित फिल्म ‘नाई नभन्नु ल ६’को छायांकन आजबाट सुरु भएको छ । काठमाडौंको एक विद्यालयमा कलाकार अनुभव रेग्मीको दृश्य खिच्दै यो फिल्मको छायांकन सुरु भएको लेखक सामिप्यराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार, अनुभवको फिल्ममा केमियो भूमिका रहनेछ ।
यो फिल्मको छायांकन तिहार अगाडि ३ दिन गरिनेछ । यसपछि, तिहार लगतै बाँकी छायांकन हुनेछ । फिल्मलाई विकासराज आचार्यले निर्देशन गर्दैछन् । हिट सिरिजको छैटौं श्रृङ्खलामा नायिका आँचल शर्मा मुख्य भूमिकामा छिन् ।
उनलाई नयाँ कलाकार आर्शिवाद क्षेत्रीले साथ दिदैछन् । यो फिल्मबाट नायिका संचिता लुइटेल र नायक निखिल उप्रेतीका छोरा अर्थव उप्रेतीले डेब्यू गर्दैछन् । अर्थवको डेब्यूका कारण पनि फिल्म चर्चामा छ ।
निर्माणपक्षले फिल्मको कथावस्तु खुलाएको छैन । तर, यसपटक पनि बाल मनोविज्ञानमा आधारित रहेर फिल्म बनाउने तयारी विकासको छ । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, बसन्त सापकोटाको संगीत छ । फिल्मलाई नयाँ बर्षको दिनबाट रिलिज गर्ने योजना विकासको छ ।
प्रतिक्रिया