यसकारण ‘के घर के डेरा’ हिट हुन सक्छ

उज्यालोको पर्व तिहारको अवसर पारेर कार्तिकको ४ गतेबाट नेपाली फिल्म ‘के घर के डेरा’ रिलिज हुँदैछ । नेपाली फिल्मले राम्रो व्यापार गरिरहेको अवसरमा कमेडी जनराको यो फिल्मबाट पनि आम फिल्मीकर्मीलाई सफलताको आशा छ । अझ, यो फिल्मको टिमले फिल्मबाट सफलता प्राप्त गर्ने सोच राख्नु नयाँ कुरा नै भएन ।

यो फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको हो । फिल्मको कमेडी पाटोले दर्शकलाई आकर्षित गरेको छ । ‘कबड्डी ४, झिङ्गे दाउ, २ नम्बरी’ जस्ता सामाजिक कमेडी फिल्मले दर्शकको मन जितेको कारणले पनि ‘के घर के डेरा’लाई सफल हुन सजिलो छ । अर्कोतिर, फिल्मको निर्देशन दीपेन्द्र के खनालले गरेका हुन्, जसले दर्शकमाझ बेग्लै छाप छाडेका छन् ।

फिल्मका कलाकार पनि यो फिल्म चल्ने मुख्य कारण हुन् । फिल्ममा दयाहाङ राई र विपिन कार्की मुख्य भूमिकामा छन् । विपिनको भूमिकाले ट्रेलरबाट नै चर्चा पाइसकेको छ । यस्तै, घर र डेराको समस्या आम नेपालीको संयुक्त समस्या हो । जसकाकारण, डेरामा बस्नेहरुका लागि यो फिल्म जति प्रिय छ, त्यती नै प्रिय घर हुनेहरुका लागि पनि हुनसक्छ ।

फिल्म चल्ने मुख्य आधार, यसको रिलिज मिति पनि हो । तिहारदेखि छठसम्म एक साता लामो बिदा परेकाले पनि यो फिल्मलाई ठूलो फाइदा हुनेछ ।

यसपटक तिहारमा, ठूला हिन्दी फिल्मको असर पनि खासै छैन । अक्षय कुमारको ‘राम सेतु’ र अजय देवगणको ‘थ्यांक गड’ रिलिज हुने भएपनि, यी फिल्मले नेपाली फिल्मलाई असर गर्ने संभावना कम छ ।

यदि, यो फिल्मको कथावस्तु राम्रो निस्कियो र दर्शकलाई २ घन्टा हलमा बाँधेर राख्ने क्षमता फिल्मले देखायो भने बक्स अफिसमा यसले निर्माताको पैसा फिर्ता गर्ने निश्चित छ ।