‘प्रसाद २’ खेल्न विपिन राजी हुँदा नम्रताले हात झिकिन्, नायिकाको समस्या
यदि, नेपाली फिल्मको इतिहासमा लफडै लफडा झेलर निर्माताका लागि टाउको दुखाइको बिषय बनिसकेको कुनै फिल्म छ भने, त्यो ‘प्रसाद २’ हो । यो फिल्मका लागि निर्माताले १ करोड बढी खर्च गरिसकेका छन् । अब, फिल्म नबनाउने हो भने यत्रो लगानी यसै डुब्छ । फिल्म बनाउन तम्सिएका निर्माता सुवास थापाका लागि अड्चनले छाडेको छैन ।
निर्देशक सुदर्शन थापाले छायांकन सुरु गर्ने अन्तिम तयारी पनि गरिसकेका थिए । तर, नायक विपिन कार्की र निर्माता थापाविच पारिश्रमिकको बिषयमा अड्चन देखिएपछि काम नै सुरु भएन । होइन भने, अहिलेसम्म यो फिल्मको पोष्ट प्रोडक्शन सुरु भैसक्थ्यो ।
नायक विपिन कार्की फिल्मलाई समय दिन तयार भएका छन् । तर, नायिकाको आपत आइलागेको छ । नायिका नम्रता श्रेष्ठले सुरुवातमा फिल्ममा समय दिने पक्का गरिन् । तर, अहिले उनको फिल्म ‘ग्रहण’सँग यो फिल्मको सेड्यूल जुध्यो । जसकाकारण, नम्रता अब यो फिल्ममा नहुने पक्का भैसकेको छ ।
नायिकाको आपत परेपछि निर्माताले ऋचा शर्मादेखि सुरक्षा पन्तसम्म कुरा गरे । तर, उनीहरुसँग पनि कुरा मिलेन । अब, निर्माताले केकी अधिकारीलाई अफर गरेका छन् । केकीले समय मिलाउन भ्याइन् भने कलाकारको लाइनअप पुरा हुनेछ ।
यति धेरै झन्झट बोकेर बन्न लागेको ‘प्रसाद २’लाई अब उत्कृष्ट बनाउनुपर्ने चुनौती निर्देशक थापासँग छ ।
प्रतिक्रिया