हरिवंश आचार्य भन्छन्- विवाह नगरेको भए पछुतो लाग्ने रहेछ
फिल्म ‘महापुरूष’ कात्तिक ११ गते (भाइटीकाको भोलिपल्ट) देखि देशभर प्रदर्शन हुँदैछ। प्रदीप भट्टराई निर्देशित फिल्ममा हरिवंश आचार्यले दुई छोराको एकल बुबाको भूमिका निर्वाह गरेका छन् ।
फिल्मको ट्रेलरमा एकल बुवाले बुढेसकालमा विवाह गर्न लागेको कथा देखाइएको छ। फिल्मको ट्रेलर सार्वजनिक भएपछि कतिपयले हरिवंश आचार्यको वास्तविक कथा देखाइएको अड्कलबाजी लगाएका छन्। तर, हरिवंशले फिल्मको कथा आफ्नो जीवनसँग मेल नखाने बताएका छन् ।
श्रीमतीको निधन भएपछि अर्को विवाह गर्न चाहने कथाबारे हरिवंशले आफ्नो जीवनसँग फिल्मको कथा मेल नखाने प्रष्टयाएका छन्। हरिवंशले १० वर्षअघि ५२ वर्षको उमेरमा दोस्रो विवाह गरेका थिए ।
यसबारे उनले भने, ‘आफ्नो श्रीमतीको निधन भएपछि अर्काे विवाह गर्न चाहने कथा फिल्ममा देखाइएको छ । यो मेरो वास्तविक जीवनभन्दा अलग छ। उमेर ढल्केपछि आफूले विवाह गरेको भाग मात्र फिल्मको कथासँग मेल खान जान्छ । त्यो समयमा अरुले आफ्नो जीवनबारे सोच्नु पर्छ भन्नु हुन्थ्यो। मैले पनि के महसुस गर्थें भने मेरो लागि छोराहरू घरमा बसिरहनु हुँदैन। छोराहरूलाई आफ्नो व्यापार व्यवसायमा अगाडि बढ्न दिनुपर्छ भन्ने लाग्यो। छोराहरूकै सल्लाहअनुसार मैले विवाह गरेँ।’
उनले अघि थपे, ‘विवाह गरेपछि काममा फर्किन सकेँ। मेरो छोराहरूले आमा पाए, मैले जीवनसाथी पाएँ। त्यस्तो घटना हुनु नराम्रो हो। त्यस्तो घटना सबैभन्दा ठूलो दुर्भाग्य हो । आफूले सोचेर हुँदैन। यतिबेला सोँच्दा जीवन सजिलो भएको देखेर आफूले विवाह नगरेको भए पछुतो लाग्ने रहेछ। तर, विवाह गरेपछि आफ्नो जीवन सहज भएको बताए।’
‘महापुरूष’मा मदनकृष्ण, हरिवंश, रविन्द्र र अरुणसँगै गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुईँटेल लगायत कलाकारको अभिनय छ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्मको म्याक्स दिपेश खत्री निर्माता हुन्। फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । फिल्मले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया