‘प्रसाद २’: विपिन र निर्माताको असमझदारीले निम्त्याएको लफडा
उसो त, नायक विपिन कार्की र निर्माता सुवास थापाविचको लफडा मिलिसकेको छ । विपिनले फिल्म ‘प्रसाद २’लाई बलिउड फिल्म ‘एनिमल’पछि समय दिनेछन् । तर, फिल्मको छायांकन नै सुरु भएर पनि रोकिएपछि लफडा भयो । यो लफडाको मुख्य केन्द्रमा विपिन नै परे ।
तर, विपिनले बारम्बार आफूलाई बदनाम गर्न खोजिएको र आफ्नो कुनै पनि गल्ती नभएको बताउँदै आएका छन् । उनले, यो फिल्मको सेटबाट अन्तिममा आफू हिडेको तर्क गरेका छन् । तर, आफूले नै गर्दा फिल्मको काम रोकिएको भन्दै निर्माणपक्षले आफ्नो बदनाम गरेको विपिनको गुनासो छ । उसो भए के थियो त लफडाको जड ?
यो लफडाको मुख्य जड पारिश्रमिक विवाद थियो । विपिनले सुरुवातमा ५ लाख पेश्की रकम लिदै २५ लाखमा फिल्म साइन गरेका थिए । तर, २ बर्षसम्म फिल्म बनेन । फिल्मका निर्देशक पनि परिवर्तन भए । यसपछि, विपिनले अब आफूलाई ३६ लाख पारिश्रमिक दिनुपर्ने निर्मातासँग शर्त राखे । सुवास यसमा राजी पनि भए । सुवासले छायांकन अगाडि विपिनलाई दिएको संझौता रकममा ७ लाख रुपैयाँ थपिदिन राजी पनि भए ।
विपिन पनि छायांकन सुरु भन्दा अगाडि ७ लाख रुपैयाँ दिने सहमती भएपछि काम गर्न राजी भए । तर, छायांकन सुरु हुने दिनसम्म पनि सुवास विपिनसँग नजिक हुन चाहेनन् । विपिनले भने निर्मातासँग एउटा कुरा गर्नु छ, कुरा सकिएपछि छायांकन गरौंला भन्ने तर्क गरे । यही तर्कबाट सुरु भएको बहस अन्तिममा काम नै नहुने अवस्थामा पुगेको थियो ।
चलचित्र निर्माता संघ र कलाकार संघको रोहबरमा भएको छलफलमा यही कुरामा सहमति भएपछि विपिन काम गर्न राजी भएका हुन् । सुदर्शन थापाले निर्देशन गर्ने यो फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया