डेरावाला र घरवाला घरबेटीको समस्या बोल्ने ‘के घर के डेरा’को ‘ओएसटी’ गीत
काठमाडौं उपत्यकामा भाडामा बस्नेहरूले घरबेटीको असहयोग र यातनासमेत भोग्नु परेका दर्जनौं उदाहरण छन् । साँघुरो कोठामा बस्नेको हालत झन् दुःखद छ । अचानक घरबेटीले कोठा खाली गर्न दबाब दिने, छाड्न तयार नभएपछि घरबेटीसँग चर्काचर्की पर्ने । घरबेटी चर्को घरभाडा उठाउने, भाडा नतिरे कोठाभित्र छिरेर भएभरका कपडा फ्याँकिदिने ।
राजधानीका घरबेटीबारे एउटा कहानी सुनिने गरेको छ, ‘घरबेटीहरू ढोकामा चप्पल हेर्छन् । पाहुना भए गाली गर्छन् ।’ घरबेटीको दबाबका कारण कोठा छाड्दै सर्नेहरुत अझै कति ठाउँ चहार्नुपर्ने हो अत्तोपत्तो हुदैन ।
यस्तै, घर र डेराको कथाको सारांश भन्ने फिल्म ‘के घर के डेरा’को टाइटल गीत ‘ओएसटी’ सार्वजनिक भएको छ । तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म सार्वजनिक गीतले डेरा लिएर बस्नेले भोग्ने अनेक समस्या र काठमाडौंमा घर हुनेहरुको समस्यालाई पनि सम्बोधन व्यक्त गरेको छ । डेरामा बस्ने र घर हुनेको समस्यालाई रोचक ढंगले उठान गरेको यो फिल्मको ट्रेलरले निकै राम्रो चर्चा पाइसकेको छ ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, भोलाराज सापकोटा, कोशिश क्षेत्री, प्रभाकर न्यौपाने, आयुषी ढकालको अभिनय छ ।
यो फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । फिल्ममा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।
प्रतिक्रिया