के तिहारमा मंगलबार नै नेपालमा रिलिज होलान् त अक्षय र अजयका फिल्म ?
कार्तिकको ४ गतेबाट फिल्म ‘के घर के डेरा र नालापानी’ नाम गरेका २ नेपाली फिल्म रिलिज हुँदैछन् । तर, यदि चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघले गतिलो पहल नगर्ने हो भने, यी फिल्मले ४ दिन बाहेक हलमा गतिलो शो पाउने छैनन् । किनकी, यी फिल्म रिलिज भएको ४ दिनपछि २ हिन्दी फिल्म नेपालमा रिलिज हुँदैछन् ।
जसमध्ये, हिन्दी फिल्म ‘थ्यांक गड’ नेपाल भित्रिसकेको छ । नेपाली हलहरुको वेवसाइट हेर्ने हो भने भने अजय देवगण, सिद्धार्थ मल्होत्रा र राकुल प्रित सिंहको मुख्य भूमिका रहेको यो फिल्म अक्टुबर २५ अर्थात मंगलबारबाट नै रिलिज हुँदैछ । यस्तै, नायक अक्षय कुमारको फिल्म ‘राम सेतु’ पनि यहि मितिमा रिलिज हुँदैछ ।
यदि, नेपालमा यी फिल्महरु मंगलबार नै रिलिज भएको खण्डमा शुक्रबार अर्थात कार्तिक ४ गतेबाट रिलिज हुने २ नेपाली फिल्मले आफ्नो शो बाँड्नु पर्नेछ । यसको प्रत्यक्ष असर २ नेपाली फिल्मको व्यापारमा हुनेछ । यस्तै, मंगलबार यी दुई फिल्म रिलिज हुँदा कार्तिक ११ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘महापुरुष’लाई पनि कही न कही क्षती त हुन्छ नै ।
तिहारको समयमा नेपाली फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा छ । तर, ४ दिनमै हल बाँडफाँडा गर्नुपर्ने अवस्था आउनु दुःखद कुरा हो । केही समय अगाडि वितरकले यस्तै खेला खेल्दा तत्कालिन बोर्ड अध्यक्ष केशव भट्टराइले रोकेका थिए । तर, पछि वितरकले सर्वोच्च अदालतबाट स्टे अर्डर ल्याएर हिन्दी फिल्म बुधबार रिलिज गरेका थिए ।
यसपटक त मंगलबार नै हिन्दी फिल्म नेपाली बजारमा रिलिज हुँदैछ । यसबारेमा, चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघले कस्तो कदम चाल्छन्, हेर्न बाँकी छ ।
प्रतिक्रिया