११औं युरोपेली फिल्म महोत्सव काठमाडौं र सुर्खेतमा हुने

नेपाल युरोपेली युनियन फिल्म महोत्सवको ११ औँ संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुने भएको छ । नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै यो संस्करण काठमाडौँसँगै काठमाडौँबाहिर सुर्खेतमा हुने जानकारी दिइएको छ ।

महोत्सवमा १३ युरोपेली र तीन नेपाली फिल्म प्रर्दशन हुने आयोजकले जनाएको छ । प्रत्यक्ष र अनलाइन गरी हाइब्रिड मोडलमा चल्ने महोत्सव भौतिक रुपमा चलचित्र विकास बोर्डमा हुनेछ भने अक्टोबर २८ देखि नोभेम्बर २८ सम्म अनलाइन चल्नेछ । सुर्खेतमा हुने महोत्सव कार्तिक १९ देखि २२ गते सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिने छ । सुर्खेतमा पाँच युरोपियन तथा तीन नेपाली फिल्म प्रदर्शित गरिने छन् ।

‘दुई वर्षको अन्तरालपछि फिल्माहलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट फिल्मका साथै तीन नेपाली फिल्म प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौँ । सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदान प्रदानलाई प्रवद्र्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरुलाई हामी कसरी हेर्छाैं भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध बनाउनका लागि फिल्म प्रभावकारी माध्यम हो्,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोयेले हिभोनेटले पत्रकार सम्मेलनमा भनिन् ।

१३ युरोपियन फिल्म मध्य रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कार ले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’मा नेपाली सब्टाईटल हुने छन् ।
महोत्सवमा भर्खरै प्रदर्शन भएर चौतर्फी प्रशंसा कमाएको ‘ऐना झ्यालको पुतली’ पनि प्रदर्शन हुनेछ । किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गल्र्स्’ उत्सवमा देखाईने अन्य दुई नेपाली फिल्महरू हुन् ।

महोत्सवको सद्भावना दूत नायिका केकी अधिकारी हुनुहुन्छ । केकी अधिकारीले कार्यक्रममा बोल्दै युरोपेली फिल्मको प्रदर्शनले फिल्म साक्षरतामा अभिवृद्धि गर्ने र नेपाल र युरोपबीच सहकार्यका ढोका खोल्ने विश्वास व्यक्त गरिन् ।

महोत्सवअन्तर्गत फिल्म र फिल्म निर्माणका विभिन्न पक्षहरूसँग सम्बन्धित तीन पूरक क्रियाकलापहरूको पनि आयोजना हुनेछ । २९ अक्टोबरमा नेपालको समय अनुसार अपरान्ह २ बजे आयोजना गरिने कार्यक्रममा फिल्म निर्माणमा आर्काइभ अर्थात् पुराना सामग्रीको प्रयोग कसरी गर्न सकिन्छ भन्ने चर्चा गरिनेछ । यस विषयमा युरोपका विज्ञ गाई बोर्ले र नेपाली विज्ञ उलासा गुरुङ्गले आफ्ना अनुभव साट्नेछन् ।

दोस्रो पूरक कार्यक्रम ‘चलचित्रहरूले वातावरण संरक्षणमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने विषयको अन्तक्र्रियामा ह्युगो मेज र रोशनी अधिकारी सहभागी हुनेछन् ।

तेस्रो पूरक कार्यक्रम थेरेसा होफेर्ट दे तुरेगानो र अनुप पौडेलले नोभेम्बर १ अर्थात कार्तिक १५ गते अपरान्ह २ः०० बजे सञ्चालन हुनेछ । यो कार्यक्रम युरोपमा फिल्म निर्माणको अवस्था र युरोपेली र नेपाली चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरू बिच सहयोग र सहकार्य सम्बन्धी हुनेछ ।

सुर्खेतमा फिल्मकर्मी सुजित बिडारीले कात्तिक २२ गते कणार्ली प्रदेशका फिल्मका विद्यार्थी तथा फिल्मकमीहरुलाई लागि मास्टरक्लास दिनेछन् ।