किन बक्स अफिसमा कमजोर देखियो ‘हिजो आजका कुरा’ ?
शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्म ‘हिजो आजका कुरा’ले बक्स अफिसमा गतिलो सुरुवात गर्न सकेन । यसको असर फिल्मको शोजमा समेत देखिएको छ । देशभरका मल्टिप्लेक्सले यो फिल्मलाई शुक्रबार र शनिबार उच्च शो दिएका थिए । तर, आइतबारबाट भने शोज निक्कै घटेको छ । मुख्यतया, फिल्मको व्यापार कमजोर भएपछि शोजमा भारी गिरावट आएको हो ।
साकार पन्तको निर्देशनमा बनेको यो फिल्मको वर्ड अफ माउथ समेत सुखद देखिएन । कारण, यो फिल्मको बिषयवस्तु राम्रो भएपनि पटकथा फितलो हुनु हो । निर्देशकले फिल्म बनाउँदै गर्दा सिरियलबाट पर हट्न नसक्नु यो फिल्मको मुख्य कमजोरी हो । फिल्मको पहिलो हाफ निक्कै नै कमजोर छ ।
सिरियल शैलीमा बनाइएको पहिलो हाफले दर्शकलाई हलमा बाँधी राख्न नै सक्दैन । दोश्रो हाफ केही सुधारिएको छ । दिव्य देव र ऋचा शर्माको प्रेम कहानी सुरु भएपछि फिल्म केही फ्लोमा देखिएको छ । तर, दोश्रो हाफमा पनि सिरियलको ढाँचालाई निर्देशकले छाड्न सकेका छैनन् ।
फिल्मले दिन खोजेको सन्देश राम्रो छ । परिवार अलग हुँदाको पीडा फिल्ममा देखाइएको छ । यस्तै, एकल आमाको बिहेको बहस समेत यो फिल्मले उठाएको छ । उमेर अन्तरमा हुने बिबाह, अमेरिकाको रहरले परिवारमा आएको फुटलाई फिल्ममा उठाइएको छ । तर, प्रस्तुति निक्कै नै कमजोर बन्दा दर्शक हलमा लामो समय टिक्न सक्दैनन् । बक्स अफिसमा यसैको प्रभाव देखिएको हो ।
सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्य देव, साकार पन्त, रीमा विश्वकर्मा, जेबिका कार्की लगायतको मुख्य भूमिका रहेको फिल्म लकडाउन अगाडि नै निर्माण भएको थियो ।
प्रतिक्रिया