फ्राइडे रिलिज: हलमा पाँचवटा फिल्म भिड्दै

आज शुक्रबारबाट हलमा पाँचवटा फिल्म प्रदर्शनमा आएका छन्। जसमा नेपाली फिल्म ‘हिजोआजका कुरा’ र विदेशी फिल्ममा भारतका ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ रहेका छन्। यसरी एकैपटक धेरै फिल्म प्रदर्शनमा आउँदा शो बाँडिएको छ ।

साकार पन्तले निर्देशन गरेको फिल्म ‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा आएको हो । झन्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भएको ‘हिजोआजका कुरा’ लोकप्रिय टेलिसिरियलमा गनिन्छ । सोही नाम सापटी लिएर अहिले फिल्म निर्माण भएको हो।

सन्तोष पन्तले निर्माण गरेको ‘हिजोआजका कुरा’ टेलिभिजनमा देख्दै हुर्किएका नेपाली दर्शकलाई फिल्म हिजोआजका कुरा मन पर्न सक्छ । तर ‘मास’ दर्शकलाई यसले कत्तिको अपील गर्न सक्ला भन्ने कुरा चाहिं फिल्मको वर्ड अफ माउथमा निर्भर रहनेछ । यो फिल्मलाई उनका छोरा साकार पन्तले निर्देशन गरेका हुन्।

विशेषगरि, फिल्ममा अमेरिका, अष्ट्रेलिया जानुपर्ने वाध्यता, नेपालमा रहेका परिवारमा हुने पीडाको कथालाई देखाइएको छ । फिल्मले विदेशमा पनि गाह्रो रहेको भन्दै नेपालमा नै बस्नुपर्ने सन्देश दिएको छ ।

फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, जयनन्द लामा लगायतको अभिनय छ ।

यस्तै, चिरञ्जीवी स्टारर फिल्म ‘गडफादर’ भारतमा गत साता नै प्रदर्शन भएपनि एप्पल इन्टरटेनमेन्टले नेपालमा भने आजदेखि प्रदर्शन गर्दैछ । फिल्मा सलमान खान चिरञ्जीवीको भाइको भूमिका छन्।फिल्मले भारतीय बक्स अफिसमा यसले औसत कमाइ गरिरहेको छ ।

आयुष्मान खुराना स्टारर कमेडी ड्रामा फिल्म ‘डाक्टर जी’ दर्शकमाझ पर्खाइ फिल्म हो । फिल्म एक पुरुष डाक्टर स्त्री रोग विशेषज्ञ बन्ने कथामा आधारित छ । विषयगत फिल्म हेर्न रुचाउने गम्भीर दर्शकदेखि कमेडी रुचाउने दुवैथरी दर्शकलाई यसले आकर्षित गर्न सक्छ ।

अनुभूति कश्यपको निर्देशनमा बनेको यो फिल्ममा आयुष्मानका अलावा अभिनेत्री शेफाली शाह र रकुल प्रीत सिंह मुख्य भूमिकामा रहेका छन् ।

समीक्षकबाट सकारात्मक समीक्षा प्राप्त गरेको दक्षिण भारतीय फिल्म ‘कन्तारा’लाई ‘केजीएफ २’ का निर्माताले निर्माण गरेका हुन् । विश्वभर नै लागेको कन्तारा साउथ फिल्म रुचाउने र केजीएफका फ्यानलाई मन पर्न सक्छ ।

‘वान पिस रेड’ सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा बढी कमाउने फिल्म हो । एनिमे सिरिजका फ्यान र दर्शकलाई लक्षित गर्दै नेपाल रिलिज गर्न लागिएको हो ।