‘नालापानी’लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

ऐतिहासिक बिषयवस्तुमा बनेको नेपाली फिल्म ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ ।

कार्तिक ४ गतेबाट प्रदर्शन हुन लागेको ‘नालापानी’ फिल्मलाई चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफुले कर छुट प्रदान गर्न पहल सुरु गरेको बताए ।

‘बुधबार सञ्चार सचिव डा. बैकुण्ठ अर्यालसँगको भेटमा नालापानीलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छु । सचिवले तुरुन्तै अर्थ मन्त्रालयमा पत्राचार गर्नुभएको छ’ केसीले भने, ‘नेपालको गौरवगाथा बोकेको यो फिल्म नेपालको ऐतिहासिक बिषयमा बनेको हुँदा र चलचित्र विकास बोर्डले बिशेष फिल्म घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरीसकेकोले पनि कर छुटको लागि योग्य छ भनेर मैले पहल सुरु गरेको हुँ । यति मात्रै नभएर हलमा देखाईने विज्ञापन लगायतमा पनि मैले सहजिकरणको लागि पहल गरीरहेको छु ।’

केसीले यस प्रकारका राष्ट्रिय गौरव बोकेका फिल्महरुलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्य आफुले सँधै राख्ने बताए । साथै केसीले बोर्डले ‘नालापानी’लाई दिन सकिने सबै सुविधा दिने उल्लेख गरे ।

नालापानीका निर्माता तथा निर्देशक रिमेश अधिकारीले ढिलै भएपनि राज्यले सुविधा दिन खोजेकोमा खुशी व्यक्त गरेका छन् । उनले भने, ‘हिजो सञ्चार मन्त्रालयका सचिव, उपसचिव, सहसचिव र चलचित्र विकास बोर्डका अध्यक्ष सहितको बैठकमा यो फिल्मलाई सुविधा प्रदान गर्ने बिषयमा गहन छलफल भयो । सचिवले विज्ञापनको लागि विभिन्न निकायमा पहल गर्ने प्रतिबद्दता जनाउनुभएको छ । उहाँले स्थानिय सहितका विभिन्न कर छुटका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्न पत्राचार गर्नुभएको छ । यस बिषयमा बोर्ड अध्यक्ष भुवन केसीले देखाउनुभएको अग्रसरताबाट म खुशी छु ।’

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर ‘नालापानी’ फिल्म निर्माण भएको हो । यसमा वीर योद्धा कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको छ ।